पोखराबाट पारोसम्म सिधा चार्टर उडान, असोज १२ देखि सुरु

Share:

पोखरा। पोखराबाट भुटानको पारोका लागि सिधा चार्टर उडान सुरु हुने भएको छ। युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले भुटान एयरलाइन्ससँगको सहकार्यमा आगामी असोज १२ गते (सेप्टेम्बर २८, २०२५) बाट पोखरा–पारो चार्टर उडान सुरु गर्न लागेको हो।

पहिलो उडानपछि असोज १६, २० र २४ गतेका लागि थप उडानहरू पनि तय भइसकेका छन्। चार्टर उडानको औपचारिक घोषणा गर्न युटिटिले होटल बाराही, पोखरामा मंगलबार विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। दिउँसो ४:३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा ट्राभल एजेन्टहरूसँग अन्तरक्रिया, उत्पादन प्रस्तुति तथा पत्रकार सम्मेलन आयोजना गरिनेछ। कार्यक्रममा विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहनेछ।

युटिटिका अनुसार, यस चार्टर उडानमार्फत नेपाल र भुटानबीचको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्नेछ। यात्रुहरूले दुवै देशका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको प्रत्यक्ष अनुभव गर्न पाउने विश्वास गरिएको छ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र पारोबीच सिधा हवाई सम्पर्क स्थापनाले दुबै क्षेत्रको पर्यटनलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। युटिटिले ट्राभल एजेन्ट, पर्यटक तथा सरोकारवाला पक्षबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: