पोखरा-२८ का स्थानीयसँग नगरप्रमुखको संवाद: विद्युत्, खानेपानी र बाँदर आतङ्क समाधानमा पहल हुने

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ का स्थानीय बासिन्दाले नगरप्रमुख धनराज आचार्यसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रभित्रका प्रमुख समस्याहरूबारे जानकारी गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिको अव्यवस्था, यातायात असहजता, कृषिजन्य उत्पादनको बजारीकरण, खानेपानी अभाव तथा बाँदर आतङ्कलगायत समस्याहरू नगरप्रमुख समक्ष राखेका हुन्।

स्थानीयको गुनासो सुनेपछि नगरप्रमुख आचार्यले पोखरा-२८ मा रहेका समस्याहरू आफूलाई पहिल्यैदेखि थाहा रहेको उल्लेख गर्दै ती समस्या क्रमिक रूपमा समाधान गरिने प्रतिबद्धता जनाए।

उनले तत्काल महानगरपालिकाको तर्फबाट गर्नुपर्ने काम अघि बढाइने र अन्य निकायको जिम्मेवारीमा पर्ने कार्यका लागि आवश्यक समन्वय गर्ने बताए। ग्रामीण क्षेत्रहरूमा देखिएको बाँदर आतङ्क समाधानका लागि वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने र बाँदर नियन्त्रणका व्यावहारिक उपाय अपनाउने सुझावसमेत उनले जानकारी दिए।

विद्युत् आपूर्तिको सन्दर्भमा उनले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर नियमित आपूर्तिको व्यवस्था मिलाइने जनाए। त्यस्तै, खानेपानी समस्या समाधानका लागि पनि विशेष पहल गरिने बताए।

कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरले सञ्चालन गर्दै आएको ‘कृषि एम्बुलेन्स सेवा’ लाई थप प्रभावकारी बनाउँदै विस्तार गरिने योजना रहेको उनले बताए। यातायात समस्या समाधानका लागि सम्बन्धित व्यवसायीहरूसँग समन्वय गरी सेवा नियमित गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

स्थानीय जनताको समस्यामा आफू सधैं गम्भीर रहेको स्पष्ट पार्दै नगरप्रमुख आचार्यले जनसरोकारका विषयहरूमा महानगर संवेदनशील रहेको बताए। नगरप्रमुखसँगको प्रत्यक्ष संवादपछि आफ्ना समस्या समाधानमा आशावादी देखिएका स्थानीयहरूले खुसी व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: