आजदेखि दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने

Share:

काठमाडौं। दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए।

“हाम्रो अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ,” उनले भने, “त्यहाँ एउटा कोड नम्बर आउँछ। त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिनेछ।”

च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ। खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ। अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने उनले जानकारी दिए।

अहिले नै मूल्य भने तय नहुने पौडेलले बताए। “तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक पर्दैन,” उनले भने।

एकजाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ। आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पौडेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: