यु-१४ फुटबल प्रतियोगिता छात्रातर्फ लिग चरण सुरु, छात्रको प्रिक्वाटरफाइनल सम्पन्न

Share:

पोखरा । पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु-१४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन्। कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु-१४ छात्र तथा छात्रा फुटबलमा छात्रतर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ।

मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिब स्कुललाई २-१ गोलले हरायो। दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १-० ले हरायो। पोल बी तर्फ भएको खेलमा हेमजा बोर्डिङले बालोदयलाई २-० ले हराउँदा बालकल्याणले गुरुकुललाइ ३-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ।

अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ। त्यसअघि छात्रातर्फ मंगलबार बिहान भएको खेलमा त्रिभुनव शान्ति माविले सेन्ट मेरिजलाई ३-१ ले हराएको छ। यस्तै दोस्रो खेलमा सैनिकले वेशलाइन एकेडेमीलाई ७-० को फाराकिलो गोलअन्तरले हराएको छ।

प्रतियोगितामा छात्रातर्फ ६ र छात्रतर्फ २४ विद्यालयले सहभागिता जनाएका छन्। भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा छात्रतर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ। छात्रातर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ।

प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरि बले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ। पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ।

कमेन्ट गर्नुहोस्
Share: