पोखरामा किशोर-किशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान सुरु

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले किशोर-किशोरीहरूलाई लक्षित गरी मंगलबारदेखि यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान सुरु गरेको छ। पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा गौरीशंकर माध्यमिक विद्यालय, हेमजाबाट अभियानको शुभारम्भ गरिएको हो।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलका अनुसार अभियान कास्कीका चारवटा गाउँपालिकाका दुई/दुई विद्यालय तथा कलेज (जम्मा ८) र पोखरा महानगरपालिकाका १६ वटा विद्यालय तथा कलेज गरी कुल २४ शिक्षालयहरूमा सञ्चालन गरिनेछ।

“यो अभियान हामीले स्थानीय सरकार तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको सहकार्यमा सञ्चालन गर्ने लक्ष्य राखेका छौं,” सभापति सिग्देलले बताए, “किशोर-किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका सवालमा सबै पक्षको हातेमालो आवश्यक भएकाले सहभागी हुन आग्रह गर्दछौं।”

अभियानको उद्घाटन पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले गरेका थिए। उनले किशोर-किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला रूपमा जानकारी लिन पाउने थलोका रूपमा यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले भने, “स्थानीय सरकार किशोर-किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा गम्भीर छ र यो अभियानमा पनि पूर्ण सहयोग गर्न तयार छ।”

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आवश्यक स्रोतको अभाव नहुने बताउँदै महाशाखाले अभियानमा सक्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले किशोर-किशोरीहरू खुला रूपमा यौन स्वास्थ्यका विषयमा कुरा गर्न नसक्दा मानसिक समस्याको शिकार बन्ने सम्भावना हुने भएकाले यस्ता अभियान आजको आवश्यकता भएको बताए।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल ‘आभाष’ र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सहजीकरण गरेका थिए। सचेतनामूलक कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका करिब १०० विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रम संघका सभापति नविन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस पोखरा-२५ हेमजाका सभापति मधुसूदन त्रिपाठी, विद्यालयका सहायक प्रधानाध्यापक मानबहादुर कार्की, र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले पनि मन्तव्य व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: