
काठमाडौं । पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु-१४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ। कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु-१४ विद्यालयस्तरीय छात्र/छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो।
बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५-० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने।
उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए। यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे। सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४-० ले पाखा लगायो। सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे। वसिल प्लेयर अफ दि म्याच घोषित भए।
यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे। अर्मान प्लेयर अफ दि म्याच घोषित भए।
अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५-२ ले हरायो। सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे।
अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे। उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १-० ले हरायो। शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन्। दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६-० ले हरायो। सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए।
प्रतियोगितामा भोलि छात्रातर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन्। सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन्। प्रतियोगितामा छात्रातर्फ ६ र छात्रतर्फ २४ विद्यालयले सहभागिता जनाएका छन्। भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा छात्रतर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ। छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ। प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ।


