
पोखरा । पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग २०८१ को ट्रफी सार्वजनिक गरिएको छ। यही भदौ २० देखि २८ गतेसम्म पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी पोखराको बाराहीघाटमा एक कार्यक्रमबीच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका हुन्।
नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको यो लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा आयोजना गरिनु पोखराका लागि महत्वपूर्ण भएको मेयर आचार्यले बताए।
“पर्यटकीय राजधानी पोखरा अब खेल पर्यटनको पनि हब सिटी बन्दैछ,” उनले भने, “यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउनेछ र महिला भलिबलप्रति पोखरेली दर्शकहरूको चाहनालाई पनि पूरा गर्नेछ।”
पोखरा ‘इभेन्ट सिटी’ का रूपमा विकास हुँदै गइरहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले यस्ता कार्यक्रमहरूले शहरलाई सदैव चलायमान बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार भलिबल खेलको आयोजना विकेन्द्रीकरण गर्ने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो प्रतियोगिता पोखरामा आयोजना गर्न लागिएको हो। सुन्दर पोखरा सहरको भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति, र दर्शकहरूको उच्च सहभागिता लिग आयोजनाका लागि उपयुक्त आधार भएको आयोजकले बताएको छ।
छ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा
प्रतियोगितामा देशभरका ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीहरूमा काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइटेड, पोखरा निन्जाज तथा लुम्बिनी लाभा रहेका छन् ।
यस लिगमा पोखराको प्रतिनिधित्व पोखरा निन्जाज ले गर्नेछ। प्रतियोगिता प्रारम्भ हुनु पूर्व, बिहीबार साँझ पोखराको लेकसाइडमा नगर प्रमुख धनराज नेतृत्वको टिम र महानायक राजेश हमाल नेतृत्वको टिमबीच मैत्रीपूर्ण भलिबल खेल समेत आयोजना गरिनेछ।


