समृद्ध लेखनाथको लक्ष्यसहित ओझाको नेतृत्वमा व्यवसायी टिम चुनावी मैदानमा

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २० औं साधारण सभा तथा १५ औं अधिवेशन यही भदौ २० र २१ गते सम्पन्न हुँदैछ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। यसै सन्दर्भमा संघका संस्थापक सदस्यसमेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले समावेशी, क्रमबद्ध र सक्षम व्यवसायीहरूको टिम सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका छन्।

ओझा नेतृत्वको टिम व्यवसायीहरूसँग घरदैलो अभियानमा सक्रिय छ। पछिल्ला वर्षहरूमा व्यवसायी संगठनमा राजनीतिक हस्तक्षेप बढेको भन्दै, उनले सबै दल, क्षेत्र, लिङ्ग, वर्ग र व्यवसाय समेटेर समावेशी टिम गठन गरिएको बताएका छन्। ओझाले भने, “हामीले काम गर्ने भनेको सम्पन्न व्यवसायी र समृद्ध लेखनाथ बनाउने हो। त्यसैले हाम्रो टिम कुनै दल विशेषको होइन, वास्तविक व्यवसायीहरूको टिम हो।”

उनको टिममा पोखरा तथा कास्कीमा क्रियाशील सबै दलको सहभागिता रहेको छ। उम्मेदवारहरूमा वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु) ,प्रथम उपाध्यक्षमा मेनका शेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार शेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राष्ट्रिय स्वतन्त्र पार्टी निकट कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् भने सदस्यहरूमा कृष्णप्रसाद सुवेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ तथा भीमप्रसाद सुवेदी (सन्तोष) रहेका छन् ।

महिला सदस्यहरूमा लक्ष्मी ठकुरी र सपना सुवेदी रहेका छन्। यस्तै, एसोसिएट सदस्यमा प्रवेश वञ्जारा तथा संस्थागत सदस्यमा विरभद्र कंडेल छन्।

एजेन्डा र योजनाहरू

राजेन्द्र ओझाको टिमले आगामी कार्यकालका लागि विभिन्न एजेन्डाहरुसार्वजनिक गरेको छ । जसमा एक कार्यकाल, एक महोत्सव -एक वर्ष उद्योग महोत्सव, अर्को वर्ष उत्पादन प्रदर्शनी, कृषि र पर्यटन जोड्ने दीर्घकालीन योजना, व्यवस्थित बजार र अनियमित व्यवसायको नियन्त्रण, महिलाका लागि सीप विकास तालिम तथा उत्पादित वस्तुको बजार व्यवस्थापन, कोशेली घर निर्माण, स्टार्टअप व्यवसायका लागि ऋण सहजीकरण तथा व्यवसाय सहयोग कक्ष र हेल्प डेस्क स्थापनालगायत कुल १६ वटा विशेष एजेन्डाहरू रहेका छन् ।

ओझाको नेतृत्व र अनुभव

राजेन्द्र ओझा लामो समयदेखि संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी साधारण सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष, र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन्।

उनका अनुसार संघको नेतृत्व कसैले उकासेर वा आकस्मिक रूपमा लिएको होइन, यो दशकौँदेखि व्यवसायी हितमा गरिएको निरन्तर प्रयासको नतिजा हो। उनको टिमले राजनीतिभन्दा माथि उठेर व्यवसाय केन्द्रित नेतृत्व गर्ने दाबी गरेको छ।

निर्वाचनको तयारी

संघमा हाल २ हजार ८ सय ७८ सदस्य छन्। निर्वाचनमा ७ जना पदाधिकारी, ८ जना कार्यसमिति सदस्य, २ महिला सदस्य, १ एसोसिएट सदस्य र १ संस्थागत सदस्य गरी १९ पदका लागि मतदान हुने छ। राजेन्द्र ओझाले निर्वाचन नभई सहमतिबाट नेतृत्व चयन भएको भए अझ राम्रो हुने बताउँदै भने, “आकांक्षा हुनु नराम्रो होइन, तर जो आए पनि संघ र व्यवसायी हितमा काम गर्ने सक्षम नेतृत्व आओस् भन्ने हाम्रो चाहना हो।”

कमेन्ट गर्नुहोस्
Share: