नाट्टा गण्डकी प्रदेशको नेतृत्वमा अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमण सुरु

Share:

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवर्द्धनात्मक भ्रमण सुरु गरेको छ। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको नेतृत्वमा १८ सदस्यीय टोली लुम्बिनी प्रदेशतर्फ प्रस्थान गरेको हो। टोलीले नेपालगञ्ज, भैरहवा लगायतका क्षेत्रहरूमा पर्यटनसँग सम्बन्धित अधिकारी र व्यवसायीहरूसँग अन्तरक्रिया, साझेदारी तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछ।

नेपालगञ्ज र भैरहवामा प्रवर्द्धनात्मक कार्यक्रम

भ्रमण टोलीले भदौ १९ गते नेपालगञ्ज र २० गते भैरहवामा पर्यटनसम्बद्ध सरोकारवालासँग पर्यटन साझेदारी अभिवृद्धि, सम्भाव्य बजार विस्तार, आन्तरिक पर्यटक प्रवाह लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम संयोजक तथा नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष राजेश पहारीले यसबारे जानकारी दिए।

पोखराबाट भव्य विदाइ

टोलीलाई पोखराबाट विदाइ गर्न आयोजित कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टाका पूर्वअध्यक्ष परिषद्का संयोजक वासु त्रिपाठी, सहसंयोजक सन्तोष पोखरेल, निवर्तमान अध्यक्ष हरिराम अधिकारीलगायतको उपस्थिति रहेको थियो।

पर्यटन साझेदारीमा सशक्त प्रभावको अपेक्षा

अध्यक्ष किशोर दाहालले यो भ्रमणले गण्डकी र लुम्बिनी प्रदेशबीच पर्यटन प्रवर्द्धनमा सहकार्य र समझदारी निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। “अन्तरप्रदेश भ्रमणले नयाँ अवसर र साझेदारीको ढोका खोल्नेछ,” उनले भने। टोली भदौ २१ गते पोखरा फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
Share: