पोखरामा ऐतिहासिक डिजिटल नोमाड सम्मेलन सम्पन्न, नेपाल अब डिजिटल युगतर्फ

Share:

पोखरा । नेपाल पर्यटन बोर्ड र सारब सर्भिसेसद्वारा संयुक्त रूपमा आयोजित ‘नोमाड बेसक्याम्प नेपाल २०२५’ पोखराको बरपिल रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा पहिलो पटक विश्वभरिका डिजिटल नोमाड, उद्यमी तथा नवप्रवर्तकहरूको ऐतिहासिक भेला सम्पन्न गरिएको हो। कार्यक्रममा १८ भन्दा बढी अन्तर्राष्ट्रिय वक्ता र ७० भन्दा बढी सहभागीले सहभागिता जनाएका थिए।

आयोजकका अनुसार, कार्यक्रममा सहकार्य, नेटवर्किङ र ज्ञान-विनिमयमार्फत उल्लेखनीय उपलब्धि हासिल भएको छ।पोखरा पर्यटन परिषद्को सहकार्यमा सम्पन्न कार्यक्रममा प्रविधि साझेदारको रूपमा क्लक बी टेक, आतिथ्य साझेदारमा होटल सरोवर, पर्यटन साझेदारमा नेपाल मोटो र होटल एसिया, साथै अन्य सहयोगी संस्थामा अन्नपूर्ण केबल कार र फ्रेन्ड्स लेक इन रहेका थिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले “नेपाल अनचार्टेडः द डिजिटल फ्रन्टियर” विषयमा सम्बोधन गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रमका विभिन्न सत्रमा कृत्रिम बुद्धिमत्ता (AI), रिमोट वर्क, दिगो पर्यटन, नवप्रवर्तन, तथा डिजिटल समुदायहरूको भविष्य जस्ता समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो।

कार्यक्रमले पोखरालाई प्राकृतिक सौन्दर्य, संस्कृति, र आर्थिक अवसरहरूको संगमका रूपमा प्रस्तुत गर्दै डिजिटल नोमाडहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने दिशामा थप योगदान पुर्‍याएको आयोजकको भनाइ छ। वक्ताहरूमा जोन ली डुमास, जोनाथन फोल्ट्ज, डेनी जोनाथन, क्रेग, एलोइज, अनुप गुरागाईं, ब्राड इप्पो, फियोना लेडल, क्रेग अल्सप, एलोइज स्टिन, जर्ज कात्सियोरस, रोब पाल्मर, र सचिन डाँगी लगायतले आफ्ना विषयगत प्रस्तुति दिएका थिए।

नोमाड बेसक्याम्प नेपाल २०२५ को सफलताले नेपाललाई विश्वभरिका डिजिटल पेशाकर्मी र रिमोट वर्करहरूका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। आयोजकले आगामी दिनमा नेपाललाई डिजिटल नोमाड र भविष्यका कार्यशैलीमा आधारित समुदायहरूको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: