
पोखरा। पोखरा महानगरपालिका-८ स्थित जाल्पारोड क्षेत्रमा सञ्चालनमा रहेका केही खाजाघरहरूमा अनैतिक गतिविधि हुँदै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले विशेष अपरेशन चलाएर ११ जना महिलालाई उद्धार गरेको छ भने ४ जना सञ्चालकलाई पक्राउ गरेको छ।
मंगलबार साँझ ३:४५ बजेको समयमा खटिएको प्रहरी टोलीले जाल्पारोड क्षेत्रका विभिन्न खाजाघरहरूमा छापा मारी अनैतिक गतिविधिमा संलग्न पाइएका महिलाहरूलाई उद्धार गरी “कोपिला नेपाल” नामक संस्थामा सुरक्षित राखिएको जनाइएको छ।
प्रहरी अनुसन्धानमा खाजाघरहरू सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विपरीतको कार्यमा संलग्न भएको पुष्टि भएपछि, जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ परेका ४ जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।
पक्राउ पर्नेमा स्थायी घर चितवन भई हाल पोखरा–८, जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ घर भई हाल पोखरा–८, सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, घर बागलुङ भई हाल पोखरा–८, न्यूरोड बस्ने २१ वर्षीय सागर थापा मगर र घर बागलुङ भई हाल पोखरा–८, न्यूरोड बस्ने २१ वर्षीय शंकर थापा रहेका छन्।
प्रहरीका अनुसार अनुसन्धान पश्चात आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ। प्रहरीले यस्ता गतिविधिहरूमा संलग्न कसैलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (प्रनाउ) हरी बहादुर वस्नेतले सार्वजनिक हितविरुद्धका गतिविधिमा शून्य सहनशीलता अपनाइने स्पष्ट पारे ।
