गण्डकी विश्वविद्यालय र खेलकुद मन्त्रालयबीच सहकार्य : खेल शिक्षा र व्यवस्थापनलाई संरचित बनाउन पहल

Share:

पोखरा । गण्डकी विश्वविद्यालय र युवा तथा खेलकुद मन्त्रालयबीच नेपालमा खेलकुद शिक्षा र व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा विशेष छलफल सम्पन्न भएको छ। बिहीबार खेलकुद मन्त्री तेजुलाल चौधरी र गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. डा. नवराज देवकोटाको नेतृत्वमा भएको छलफलमा सहकार्यका प्राथमिक क्षेत्रहरू पहिचान गर्दै आवश्यक कार्ययोजना निर्माणका विषयमा विचारविमर्श गरिएको हो।

छलफलमा मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, गण्डकी विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट (BSM) कार्यक्रमका संयोजक डा. मधुसुदन सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिलाका प्रमुख रवी भण्डारीलगायतका टोलीको उपस्थिति रहेको थियो।

नेपालमै पहिलो पटक सुरु गरिएको खेलकुद व्यवस्थापन सम्बन्धी स्नातक तहको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उपायहरूमा छलफल केन्द्रित भएको संयोजक डा. सुवेदीले जानकारी दिए। उनका अनुसार विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्यले खेलकुद शिक्षा र व्यवस्थापन क्षेत्रलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

छलफलमा राष्ट्रिय खेल संघहरूको संभावित संलग्नता, स्नातक विद्यार्थीहरूको भविष्य व्यवस्थापन, तथा खेलकुद क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, शैक्षिक प्रयोजनका लागि पोखरा रंगशालाको प्रयोग, विद्यार्थी तथा खेलाडीहरूलाई छात्रवृत्तिका अवसरहरू उपलब्ध गराउने व्यवस्था, विद्यालय तहका शिक्षकहरूका लागि छोटो अवधिका तालिम सञ्चालन गर्ने आवश्यकता, र स्नातक डिग्रीलाई प्रादेशिक तथा संघीय सरकारसँगको सम्बन्धमा प्रयोजन गर्ने विषयमा पनि गहन छलफल गरिएको छ।

छलफलका अन्त्यमा सबै एजेन्डाहरूमा सकारात्मक सहमति जनाउँदै सहकार्यलाई व्यवहारमा उतार्ने र खेलकुद शिक्षा तथा व्यवस्थापनलाई संस्थागत रूपमा विस्तार गर्ने निष्कर्षमा सहभागीहरू पुगेका छन्।

कमेन्ट गर्नुहोस्
Share: