
पोखरा । पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु-१४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन्। कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु-१४ विद्यालयस्तरीय छात्र/छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदा छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए।
बिहीबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।
शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक/एक गोल गरे। सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे। शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए।
दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १-० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो। अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो। उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए।
यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३-० ले हराउँदै समुह विजेता बन्यो। समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो।
शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए। समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो। सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो।
प्रतियोगितामा छात्रातर्फ ६ र छात्रतर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए। भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ। प्रतियोगितामा छात्रतर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ।
छात्रातर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ। प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ। पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ।


