पोखरा-१९ को घार्मीमा रेडक्रसद्वारा सरसफाई तथा पुष्परोपण

Share:

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१९ ले ६३औं स्थापना दिवसको अवसरमा पोखराको पर्यटकीय क्षेत्र घार्मीमा सरसफाई तथा पुष्परोपण कार्यक्रम सम्पन्न गरेको छ। उपशाखाले स्थानीय ओमकारेश्वर महादेव मन्दिर परिसरमा वातावरणीय सरसफाई गर्नुका साथै विभिन्न प्रजातिका २५ वटा फूलका विरुवा रोपिएको उपशाखाका स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले जानकारी दिए।

कार्यक्रमको सुरुआत गर्दै वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले घार्मी क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक पूर्वाधार तथा प्रचारप्रसारको अभावमा पछि परेको धारणा राखे। उनले वडा कार्यालयले सक्दो सहयोग गरिरहेको भए पनि प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक रहेको बताए। साथै, वातावरणीय सरसफाईमा स्थानीयको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक संस्था र टोल विकास समितिहरू अझ सक्रिय हुनुपर्नेमा पनि जोड दिए।

कार्यक्रम उपशाखाका सभापति रमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत गौतम, रेडक्रस कास्कीका सदस्य नवराज पौडेल, महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल, तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेललगायतले मन्तव्य राख्दै, पोखराबाट नजिकै रहेको भए पनि घार्मी क्षेत्र अपेक्षित विकासबाट पछि परेको गुनासो व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले राखेका थिए भने सञ्चालन सचिव माधव प्रसाद गौतमले गरेका थिए। सहभागीहरूले संकलन गरिएको प्लास्टिकजन्य फोहोरलाई वर्गिकरण गरी व्यवस्थापनसमेत गरेका थिए। उक्त कार्यक्रम प्लास्टिकजन्य फोहोरमैला मुक्त वातावरण संरक्षण समिति कुरेचौर, स्वाभिमान टोल विकास संस्था, र तेन्जिङ डोल्मा हेल्प नेपालको सहकार्यमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
Share: