
पोखरा। कास्कीको पोखरा महानगरपालिका-१८ चिसाखोलाबाट प्रहरीले ठूलो मात्रामा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले दिएको जानकारीअनुसार १८ वर्षीय प्रकाश परियारको घर कोठाबाट लागूऔषध स्पास्मोप्रोक्सिभन लेखिएको ८ हजार चक्की र नाइट्राभेट लेखिएको ४ हजार ९ सय चक्की, गरी जम्मा १२ हजार ९ सय चक्की लागूऔषध बरामद गरिएको हो। साथै ग २५ प ४४३८ नम्बरको मोटरसाइकल र मोबाइल फोन १ थान पनि बरामद गरिएको छ।
त्यस्तै, ३२ वर्षीय भिम बहादुर मगरको घर कोठामा छापा हान्दा, स्पास्मोप्रोक्सिभन ६ सय ३० चक्की, २ लाख ३९ हजार रुपैयाँ, लु १० प ४४४७ नम्बरको स्कुटर र मोबाइल फोन १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले बरामद लागू औषध, सवारीसाधन, नगद रकम र मोबाइल फोनको फोटोसमेत सार्वजनिक गरेको छ। प्रहरीले लागू औषध कारोबारमा संलग्न हुनेलाई कानुनी कारबाही कडाइका साथ अघि बढाइने स्पष्ट पारेको छ।


