
पोखरा। पोखराको लामाचौरस्थित सरस्वती विद्याश्रमका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयलाई सहयोग गरेका छन्।
हालै सम्पन्न लामाचौर तीज महोत्सव र ऐतिहासिक बाटुलेचौर तीज मेलामा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी भई प्राप्त पुरस्कार राशिबाट उनीहरूले पोखरा महानगरपालिका–१९ स्थित छ वटा विद्यालयलाई ६र६ थान कुर्सी सहयोग गरेका हुन्।
भुमेश्वर आधारभूत विद्यालयका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार उक्त कुर्सी सहयोग सरस्वती विद्याश्रमका प्राचार्य कृष्ण गुरुङ र वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण कार्यक्रम वडाका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गादेवी बस्नेतको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्ष पाण्डेले सरकारी विद्यालयप्रति विद्यार्थीहरूले देखाएको सहयोगी भावना प्रशंसनीय रहेको भन्दै सरस्वती विद्याश्रमले विगतदेखि नै सामाजिक उत्तरदायित्वमा उदाहरणीय कार्य गर्दै आएको बताए।
प्राचार्य कृष्ण गुरुङले विद्यालयले अतिरिक्त क्रियाकलापहरूअन्तर्गत स्थानीय मेला, पर्व र दिवसहरूमा सक्रिय सहभागिता जनाउँदै आएको र त्यस्ता प्रतिस्पर्धाबाट प्राप्त पुरस्कार विद्यार्थीहरूको इच्छा अनुसार सामुदायिक विद्यालयहरूलाई सहयोग गर्न प्रयोग गरिएको जानकारी दिए।
उनका अनुसार यसपटक पोखरा-१९ का आधारभूत विद्यालयहरूलाई लक्षित गरेर सहयोग प्रदान गरिएको हो।
सरस्वती विद्याश्रमले लामाचौर तीज महोत्सवको नृत्य प्रतियोगितामा सान्त्वना स्थान तथा बाटुलेचौर तीज मेलामा द्वितीय स्थान प्राप्त गरेको थियो।
