
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्य र सदाचारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । समाज अहिले नैतिक मूल्यमान्यता र सदाचारको खोजीमा रहेको उनको भनाइ छ।
शुक्रबार पोखरामा आयोजित मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले समाज असामाजिक गतिविधिले आक्रान्त भएको उल्लेख गरे । “मानवलाई खुसी र समृद्ध बनाउन हामी सबैको व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक छ,” उनले भने।
उनले मानवता प्रवर्द्धन गर्ने उद्देश्यले ३१ वर्षअघि मणिभद्र मुनिजी महाराजको परिकल्पनामा स्थापना भएको मानव मिलन संस्था शिक्षा, स्वास्थ्यलगायतका आधारभूत मानवीय सेवामा समर्पित रहँदै आएकोमा आभार व्यक्त गरे।
“मानिसको धर्म नै मानवता हो,” उनले भने, ” सबै धर्मको अन्तिम लक्ष्य मानव जातिको कल्याण हो। हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपाली समाजको पहिचान हो। ”
विश्वभर शान्ति र अहिंसाको वातावरण सिर्जनामा नेपालले भूमिका खेल्नुपर्नेमा जोड दिंदै उनले मानव सेवाका लागि सञ्चालन भएका अभियानहरूमा सरकारसहित सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे।
प्रदेश प्रमुख भट्टले हरेक व्यक्तिमा परोपकारको भावना हुनुपर्नेमा जोड दिँदै, गरिब, असहाय र दीनदुःखीको सेवामा सबै लाग्नुपर्ने उल्लेख गरे। उनले मानव मिलन संस्थाले लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानप्रति खुसी व्यक्त गरे।
उनले भने, “तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व- आजको समयको आवश्यकता हुन्। वर्गीय र क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवता र मानवीयताको पहिचान स्थापित गर्न संस्था निरन्तर सक्रिय देखिन्छ। ”
“मानव मिलन संस्थाले जात, धर्म, सम्प्रदाय, रंग र लिंगका संकीर्णताभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा र मानव सुखशान्तिमा योगदान दिँदै आदर्श समाज निर्माणमा सहयोग पुर्याएकोमा विश्वास लिएको छु, “उनले भने।
