सामुदायिक शिक्षा खस्किनुको दोषी को ? समाधान के ?’- म्याग्दीमा प्यानल छलफल

Share:

म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी-१०, वाखेतस्थित विद्योदय आधारभूत विद्यालयले ‘किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ?’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्ने भएको छ।

कार्यक्रममा शिक्षा, समाज र विद्यालयसँग सरोकार राख्ने विभिन्न पक्षको सहभागीता रहनेछ। प्यानलमा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, सामाजिक विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्राध्यापक रेखा कौशल रेग्मी, जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना, र शिक्षक महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्।

कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्ने छन्। प्यानल डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारणहरू पहिचान गर्ने, समाधानका सम्भावित उपायहरू प्रस्तुत गर्ने र शिक्षक, अभिभावक तथा समुदायबीच साझा कार्ययोजना निर्माण गर्ने लक्ष्य लिएको विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिए।

त्यसै अवसरमा बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिकास्तरीय ‘बालविवाह न्यूनीकरणमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिने विद्यालय इञ्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार प्रतियोगितामा बेनी नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।

यसैबीच, विद्यालयले भदौ २७, २८ र २९ गते तीन दिनसम्म विद्यार्थीको चौतर्फी विकासका लागि वृहत् खेलकुद सप्ताह सञ्चालन गर्ने भएको छ। भदौ २९ गते पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषणसमेत गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सुजन पुनले जानकारी दिए।

विद्यालयले शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: