पोखरामा सिद्धबाबाको उपस्थितिमा विविध अनुष्ठान, पितृ यज्ञदेखि सहस्र चण्डी र लक्ष्मी महायज्ञसम्म

Share:

पोखरा। महायोगी सिद्धबाबाको प्रत्यक्ष उपस्थितिमा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखाले पोखराको नदीपुरस्थित नारायणस्थानमा विविध आध्यात्मिक अनुष्ठान गर्ने भएको छ। गत असार २२ गतेदेखि चातुर्मास यज्ञ अनुष्ठान र हिमालय सिद्ध महायोग ध्यान साधना सञ्चालन गर्दै आएको प्रतिष्ठानले आगामी दिनहरूमा थप महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्ने भएको हो।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माका अनुसार हरेक दिन बिहान ६ बजे देखि ८ बजे सम्म सिद्ध महायोग ध्यान साधना भइरहेको छ। साथै, दिनभर नवग्रह शान्ति, नाडी परीक्षण, आयुर्वेदिक उपचार, रुद्री पूजा, र अपराह्न ४ देखि ६ बजेसम्म सत्संगलगायत कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

कार्यक्रमहरू 

भदौ २२ गतेदेखि असोज ५ गतेसम्म सोह्रश्राद्धको अवसरमा आयोजना हुने पितृ यज्ञमा वराहक्षेत्रका पण्डित योगेश भण्डारीबाट गरुड पुराण, वराह पुराण तथा भानुभक्त रामायणको प्रवचन हुनेछ। नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए।

असोज ६ गतेदेखि १५ गतेसम्म (नवरात्र विशेष) बिहान ९ देखि १२ बजेसम्म नियमित साधनाका साथ सहस्रचण्डी महायज्ञ सञ्चालन हुनेछ। यस यज्ञबाट जगत्जननी दुर्गा भवानीको असीम कृपा प्राप्त हुने आयोजकको विश्वास छ।

असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्म (दीपावली विशेष) धन, ऐश्वर्य र समृद्धिका लागि लक्ष्मीपूजाको अवसरमा श्रीविद्या र महालक्ष्मी महायज्ञ आयोजना गरिने छ। बिहान ९ बजे देखि १२ बजे सम्म यज्ञ र अपराह्न ४ देखि ६ बजेसम्म सत्संग गरिनेछ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वप्रकाश प्रसाईले वर्तमान समाजमा भौतिक विकाससँगै आध्यात्मिकता र सनातन संस्कारको ह्रास भइरहेको उल्लेख गर्दै, “म को हुँ? र किन हुँ ?” भन्ने तत्त्वबोधको अभावमा मानिसहरू भौतारिएको र त्यसैले मनमा शान्ति र तनमा सन्तोष नआएको धारणा व्यक्त गरे।

उनले भने, “गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीजीको कृपा एकसाथ प्राप्त गर्ने यस्तो अवसर जीवनमा बारम्बार आउँदैन। यसर्थ, सहभागी भई पुण्य लाभ लिन सबैमा आग्रह गरिन्छ।”

कमेन्ट गर्नुहोस्
Share: