अनौठो सहर: जहाँ सूर्य हप्तौं अस्ताउँदैन र महिनौं उदाउँदैन

Share:

नर्वे । नर्वेको ट्रम्सो सहर आफ्नो अनौठो दिन र रातको चक्रका कारण संसारभर चर्चित छ। यो सहरमा जाडो याममा महिनौंसम्म सूर्य देखिँदैन, जबकि गर्मी याममा हप्तौंसम्म सूर्य अस्ताउँदैन। यही विशेषताका कारण ट्रम्सोलाई उत्तरी ध्रुव (आर्कटिक) को पेरिस वा मध्यरातमा सूर्य उदाउने सहर भनेर चिनिन्छ।

नोभेम्बरदेखि जनवरी महिनासम्म ट्रम्सोमा सूर्य नै उदाउँदैन। सहरभर अन्धकार व्याप्त हुन्छ र मानिसहरू घडी र आफ्ना बानीको भरमा दिन–रातको अनुमान गर्दै जीवन चलाउँछन्। यसबिपरीत, मेदेखि जुलाई महिनासम्म सूर्य अस्ताउँदैन। मध्यरातमा समेत आकाश नीलो र उज्यालो देखिन्छ। यही अद्भुत प्राकृतिक दृश्य हेर्न प्रत्येक वर्ष हजारौं पर्यटक ट्रम्सो पुग्छन्।

जाडो याममा ट्रम्सोको आकाश गुलाबी रङको बत्तीले झलमल्ल हुन्छ, जसलाई उत्तरी प्रकाश वा अरोरा (Northern Lights) भनिन्छ। अरोराको अवलोकनका लागि ट्रम्सो विश्वप्रसिद्ध गन्तव्य हो। महिनौंसम्म अन्धकार रहने हुँदा यहाँका बासिन्दा कृत्रिम प्रकाश र भिटामिन डीको सेवनमा निर्भर रहन्छन्। त्यसैगरी हप्तौंसम्म निरन्तर उज्यालो हुने गर्मीयाममा मानिसहरूलाई निद्रा पुग्न कठिन हुन्छ, किनभने २४ सै घण्टा उज्यालो भइरहन्छ।

ट्रम्सोबासीहरूले यी अनौठा मौसमी अवस्थाहरूलाई उत्सवको रूपमा मनाउँछन्। यहाँ आयोजना हुने पोलर नाइट फेस्टिभल र मिडनाइट सन म्याराथन विशेष चर्चित छन्। साथै, ट्रम्सोमा रहेको आर्कटिक विश्वविद्यालय ध्रुवीय क्षेत्र र जलवायु परिवर्तन सम्बन्धी अध्ययन–अनुसन्धानका लागि महत्त्वपूर्ण केन्द्र हो।

हिउँले ढाकिएको ट्रम्सो सहरमा ह्वेल हेर्नु, कुकुर दौड, स्किइङ्ग जस्ता गतिविधिहरू पर्यटकको रोजाइमा पर्दछन्। यहाँको प्राकृतिक सौन्दर्य पनि अत्यन्तै लोभलाग्दो छ।

वैज्ञानिकहरूका अनुसार ट्रम्सो सहरमा यस्ता चरम मौसमी भिन्नता हुनुको कारण पृथ्वीको अक्ष २३.५ डिग्री झुकिएको हुनु हो। यही झुकावका कारण ध्रुवीय क्षेत्रमा कहिले महिनौंसम्म सूर्य उदाउँदैन भने कहिले हप्तौंसम्म अस्ताउँदैन।

कमेन्ट गर्नुहोस्
Share: