खौलालाङ-पोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रम, ४८ युनिट रगत संकलन

Share:

पोखरा । खौलालाङ-पोखरा सम्पर्क समाजले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको छ। समाजले विगत वर्षदेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको हो। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका-१३, खौलालाङमा जन्मेर हाल पोखरामा बसोबास गर्ने व्यक्तिहरूको साझा संस्था हो। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-८ का वडाध्यक्ष रुद्रनाथ बरालले समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गर्दै गरे। उनले समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

वडाध्यक्ष बरालले भने, “रक्तदानजस्तो जीवनदानको अभियान सञ्चालन गर्नु वास्तवमै सराहनीय कार्य हो। यस्ता सामाजिक कार्यलाई समाजले निरन्तरता दिइरहोस्, मेरो सधैँ साथ र सहयोग रहनेछ।”

समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा राखे। उनले मन, वचन र कर्मबाट सहयोग गरेमा सामाजिक कार्यले सार्थकता पाउने उल्लेख गरे।

समाजका वरिष्ठ उपाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक लालप्रसाद शर्माले स्वागत मन्तव्यसहित संस्थाको परिचय गराए। उनले आगामी वर्षहरूमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले छोटो अवधिमा समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै अगाडि बढ्न सफल भएकोमा खुशी व्यक्त गरे। सल्लाहकार दिनेश सुवेदीले समाजले सराहनीय कार्यहरू गर्दै आएको बताउँदै सबैको साथ र सहयोगले मात्र यस्तो सम्भव भएको धारणा राखे।

कार्यक्रममा स्केटिङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठसहित अन्य व्यक्तिहरूले पनि रक्तदान गरेका थिए। कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: