दृष्टिविहीनको सशक्तिकरणमा सहकार्य आवश्यक: प्रदेश प्रमुख भट्ट

Share:

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजको समतामूलक विकासका सहयात्री रहेको उल्लेख गर्दै प्रदेश सरकार अपाङ्गताको सवालमा कटिबद्ध रहेको बताएका छन् ।

नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार सम्पन्न ३८औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरूको शैक्षिक विकास, रोजगारीको व्यवस्थापन, सीप विकास र हित प्रवर्द्धनका लागि राज्य र संस्थाहरूको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

उनले विविध अपाङ्गता भएकाहरूको आत्मसम्मान र विविधता स्वीकार गर्दै नीति निर्माणमा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्न जोड दिए।

संघका केन्द्रीय अध्यक्ष तीर्थराज वन्तले सामाजिक संघ-संस्थामा भइरहेको राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै गैरनाफामूलक संस्थाहरूमा तटस्थताको आवश्यकता रहेको बताए।

उनका अनुसार संघ २०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्रको रूपमा स्थापना भई २०४२ सालमा नाम परिवर्तन गरी “नेपाल दृष्टिविहीन कल्याण संघ” का रूपमा गैरनाफामूलक संस्थाको रूपमा अघि बढेको हो।

संघको कास्की शाखाका अध्यक्ष टेकमान प्राधानाङ्गले संस्थाले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाइ, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, ब्रेललिपी तालिम, लघुवित्त व्यवसाय योजना तालिम, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा अभिव्यक्तिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा लाइन्स क्लब अफ लेकसिटीका अध्यक्ष सुदीप प्राधानाङ्गले दृष्टिविहीनहरूको व्यवसायिक प्रवर्द्धनमा प्राविधिक ज्ञानमार्फत सहकार्य गर्न सकिने बताए। उनले मोतीयाविन्दु परीक्षणमा सहयोग गर्दै आइएको र भविष्यमा सामाजिक कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

संघका केन्द्रीय महासचिव पवन घिमिरेले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै दृष्टिविहीनहरूका लागि सीपमूलक तालिम, शैक्षिक कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका विषयमा प्रकाश पारे। साथै, दिगो विकास लक्ष्य (SDG-2030) प्राप्तिका लागि अपाङ्गता समावेशी कानुन निर्माण अपरिहार्य रहेको धारणा राखे।

राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोखरेल, नेपाल नेत्रहीन संघका निर्देशक अमृत राई, संघका केन्द्रीय उपाध्यक्ष चण्डेश्वरानन्द राज वैद्यलगायत वक्ताहरूले प्रविधिमैत्री दृष्टिकोणमार्फत दृष्टिविहीनहरूको सशक्त विकास आवश्यक रहेकोमा जोड दिए।

पुरस्कार वितरण

उक्त सभामा अपाङ्गताको क्षेत्रमा उल्लेखनिय कार्य गरेबापत उत्कृष्ट शाखा पुरस्कारबाट नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखा पचास हजार नगद राशी सहित पुरस्कृत भएको छ । त्यस्तै केशावती मास्के अपाङ्गता उत्कृष्ट सेवा पुरस्कारबाट नेपाल नेत्रहिन संघका निर्देश अमृत राई पुरस्कृति भएका थिए। उनलाई तीस हजार नगद राशी सहित प्रमाण- पत्र प्रदान गरिएको थियो ।

डा. लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कारबाट विद्यार्थी दिपेश उपाध्यय र सचिना सुवेदीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । रोटरी क्लब अफ काष्ठमाण्डप पुरस्कारबाट हालै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने १५ जना दृष्टि अपाङ्गता भएका विद्यार्थीलाई जनही १० हजारका दरले पुरस्कृत गरिएको थियो ।

त्यस्तै नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखाको भवन निर्माणका लागि गाविसका तर्फबाट जग्गा उपलब्ध गराउने तत्काली सराङकोट गाविसका अध्यक्ष एवं संघका आजिवज सदस्य झपट बहादुर थापालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: