गण्डकी फोटोग्राफर संघको ७औं स्थापना दिवसमा उत्कृष्ट फोटोग्राफरहरू सम्मानित

Share:

पोखरा। गण्डकी प्रदेशभरिका फोटोग्राफरहरूको अभिभावक संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो सातौं स्थापना दिवसको अवसरमा “फोटोग्राफी प्रतियोगिता-२०८२” को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरहरूलाई सम्मान गरेको छ। १८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा सुरु गरिएको ‘मिराज राष्ट्रिय वैवाहिक’ तथा ‘नेचर एन्ड ल्याण्डस्केप’ विधाका फोटो प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गर्दै उत्कृष्ट फोटोग्राफरहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको हो।

संघका अनुसार प्रतियोगिताको उद्देश्य प्रविधिको प्रयोगमार्फत फोटोग्राफरहरूको क्षमता अभिवृद्धि गर्नु, सम्मानजनक वातावरण तयार पार्नु र व्यवसायिक मनोबल उच्च बनाउनु रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले उद्घाटन गर्दै फोटोग्राफी क्षेत्रका चुनौती र सम्भावनाबारे प्रकाश पारे। उनले गण्डकी फोटोग्राफर संघलाई “देशैभरिका फोटोग्राफरहरूको प्रेरणाको स्रोत” भएको बताउँदै, यस्ता प्रतियोगिता फोटोग्राफरहरूका लागि महत्वपूर्ण भएको उल्लेख गरे।

वैवाहिक फोटो विधातर्फको मुख्य पुरस्कार बेस्ट वेडिङ फोटो अवार्ड पोखराका युवा फोटोग्राफर देवानन्द पोखरेललाई प्रदान गरिएको छ। उनले नगद १५ हजार ५ सय ५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

अन्य विजेताहरूमा ब्राइड एण्ड ग्रुम हेडसटमा नन्दु श्रेष्ठ बेस्ट कलरिङ एण्ड रिटचिङमा मोहन महतो, बेस्ट मोमेन्ट क्याप्चरिङमा नारायण पौडेल, बेस्ट कपल पोजिङमा नन्दु श्रेष्ठ तथा ट्रडिशनल कल्चरमा प्रेम बहादुर अर्याल विजेता भएका छन्।

यस्तै, उत्कृष्ट पाँचमा प्रदीप श्रेष्ठ, महेन्द्र केसी, पुरन थापा, सुवास पौडेल, किशोर सुनार, सानुकाजी महर्जन, विष्णुहरी अधिकारी, बिकास ठकुरी, देवानन्द पोखरेल, नारायण पौडेल, प्रेम श्रेष्ठ, पूर्णदत्त भट्टराई, भुवन श्रेष्ठ, उन्नति फोटो स्टुडियोलगायत छन्।

प्रतियोगिता मिराज फोटोका सञ्चालक भक्तबहादुर तामाङ र बृहस्पति तामाङको रु ३ लाखको अक्षयकोषबाट सञ्चालित छ। पुरस्कार यही अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रदान गरिएको हो।

तामाङले बताए अनुसार प्रतियोगितामा नेपालका विभिन्न जात-जातीका सांस्कृतिक तथा धार्मिक पहिचानहरूलाई प्राथमिकतामा राखी मूल्यांकन गरिएको हो। नेचर एण्ड ल्याण्डस्केप विधातर्फको ‘बेस्ट फोटोग्राफर अवार्ड’ काठमाडौंका नन्दु श्रेष्ठले प्राप्त गरे। उनलाई नगद १ हजार १ रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

अन्य उत्कृष्ट १० मा पर्ने फोटोग्राफरहरूमा सजिनमणि पौडेल, लक्ष्मीपति पौडेल, सुवास पौडेल, कृतन पोखरेल, रमेश श्रेष्ठ, बव शाही, सफल पौडेल, समिर रेग्मी र सजिनमणि पौडेल रहेका छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै सबै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरे। निर्णायक मण्डलका संयोजक दुर्गा प्रसाद पौडेलले छनोट प्रक्रिया स्पष्ट पारे भने कार्यक्रम संयोजक जीवन ढुंगानाले प्रतियोगितामा १ हजार ५ सय तस्बिर सहभागी भएको जानकारी दिए।

मन्तव्य राख्नेहरुमा दिनेश अर्याल प्रवन्ध निर्देशक फोटो कन्भर्सन काठमाडौ खडानन्द अधिकारी अध्यक्ष कैलाश सहकारी, हरि पन्त अध्यक्ष चितवन फोटोग्राफी संघ, गणेशलाल श्रेष्ठ सल्लाहकार बिजय शर्मा जैसी संयोजक पर्वत, कुशल अधिकारी संयोजक नवलपुर, शुसिलबाबु थकाली संयोजक मुस्ताङ तथा देवानन्द पोखरेल पुरस्कृत फोटोग्राफर रहेका छन् ।

कार्यक्रममा म्याग्दी र गोर्खा फोटोग्राफर संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र सम्मान गरिएको थियो। साथै, भारतको पटनामा आयोजना हुन गइरहेको बिहार एक्सपोको ब्यानर सार्वजनिक गरिएको थियो। कार्यक्रम संघका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षता र महासचिव प्रेमप्रसाद पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
Share: