
पोखरा। प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको छ।
नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह-सचिवमा पवित्रा मल्ल र कोषाध्यक्षमा रेखा परियार रहेका छन्। सदस्यहरूमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर, दिनेश सुनार, सुरेन्द्र यादव, माया राई, सन्दीप सापकोटा, ज्योती शेर्पा, लक्षुमन विक, अनिता कोइराला, अनिता विक, रेणु थापा र श्यामसुन्दर यादव रहेका छन्।
पार्टीका केन्द्रीय सह(अध्यक्ष) तिलक थापाले भेलाको उद्घाटन गरेका थिए। उक्त अवसरमा सह(अध्यक्ष) थापा मगरले देशमा भ्रष्टाचार, अन्याय, अत्याचार र बेथितिको वृद्धि भएको तथा राज्यका सबै तह र निकायहरूमा चरम राजनीतिकरण बढेको बताउँदै अहिलेको व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नरहेको औंल्याए।
उनले भने, “यस व्यवस्थालाई फाल्न आम जनता पार्टी तेस्रो जनआन्दोलनको तयारीमा छ। हाम्रो पार्टी मात्र जनपक्षीय र राष्ट्रवादी पार्टी हो। उत्पीडित जनता र राष्ट्रिय स्वतन्त्रताको लागि आम नेपाली जनता हाम्रो पार्टीमा आबद्ध होऔं।”
थापा मगरले कांग्रेस–एमालेको गठबन्धनमा बनेको केपी ओली सरकार जनविरोधी र राष्ट्रघाती काम गर्दै आएको आरोप लगाउँदै आम जनता पार्टीले यस्ता हर्कतविरुद्ध भत्र्सना र खबरदारी गर्दै आएको बताए। उनले थपे, “यो पार्टीभित्र देशको भविष्य निर्माण गर्ने दृष्टिकोण र देश विकासका लागि मार्गनिर्देशन गर्ने आफ्नै सिद्धान्त छ।”
पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले व्याप्त विकृति र विसंगतिकाबीच लड्न आफूहरूको पार्टीले आईटी आर्मी गठन गरेको दाबी गर्दै भ्रष्टाचार र लुटतन्त्र गर्नेहरूलाई यो आर्मीले ठेगान लगाउने बताए।
कार्यक्रममा प्रदेश सह(अध्यक्ष) रामजी गुप्ता, कास्की जिल्ला इञ्चार्ज सन्तोष शाह, गण्डकी प्रदेश सचिव विमल काडेल, आईटी आर्मी कास्की इञ्चार्ज मौजालाल यादव, महिला विभाग अध्यक्ष पवित्रा मल्ल, प्रदेश ट्रेड युनियन फेडरेशन नेपालका प्रदेश इञ्चार्ज हरि थापा लगायतले सम्बोधन गरेका थिए।
अर्जुन केसीको अध्यक्षतामा बसेको भेलालाई महिला मोर्चा गण्डकी प्रदेश इञ्चार्ज सीता सुवेदीले स्वागत गरे भने प्रदेश पार्टी प्रवक्ता सूर्यबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए।
सोही कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टी परित्याग गरी करीब एक दर्जन नेता तथा कार्यकर्ता आम जनता पार्टीमा प्रवेश गरेका थिए।
