
काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा युवासहित विद्यार्थीको निधन भएपछि निजी विद्यालय क्षेत्रका प्रमुख संस्था-संघहरूले दुई दिन विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।
नेपालमा निजी विद्यालय सञ्चालन गर्ने संस्था एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते विद्यालय बन्द गरी शोक विदा मनाइने जनाएका हुन्।
विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना र उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस अकल्पनीय घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ। यस्तो परिस्थितिमा सबै पक्ष संयमित र धैर्यवान भई सामाजिक शान्ति, सद्भाव र सहिष्णुताको वातावरण कायम गर्न सहयोग गर्नु आवश्यक छ।”
संयुक्त विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बद्री दाहाल, हिसान कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीका हस्ताक्षर रहेका छन्।

