भदौ २४ गते पोखराका निजी विद्यालय पनि बन्द

Share:

पोखरा । जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा युवासहित विद्यार्थीको ज्यान गएपछि कास्की जिल्लाका निजी विद्यालयहरूले मंगलबार (भदौ २४) का लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमका अनुसार, सोमबार दिनभर चलेको प्रदर्शनका कारण विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका थिए। उक्त अवस्थालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। उनका अनुसार, कास्कीका सबै निजी विद्यालयहरू १०+२ तहदेखि मन्टेसरीसम्म बन्द रहनेछन्।

गौतमले अन्य दिनहरूमा पनि बिदा थप्ने कि नथप्ने भन्ने विषयमा आजै बैठक बसेर निर्णय गरिने जानकारी दिए। यसैबीच, निजी विद्यालय क्षेत्रका केन्द्रीय छाता संस्थाहरूले पनि दुई दिन शोक विदा दिने घोषणा गरेका छन्। एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सन ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते विद्यालय बन्द गरी दिवंगतप्रति श्रद्धाञ्जली स्वरूप शोक विदा मनाउने जनाएका हुन्।

विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु हुनु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस अकल्पनीय घटनाले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ। यस्तो परिस्थितिमा सबै पक्ष संयमित र धैर्यवान भई सामाजिक शान्ति, सद्भाव र सहिष्णुताको वातावरण कायम गर्न सहयोग गर्नु आवश्यक छ।”

कमेन्ट गर्नुहोस्
Share: