
काठमाडौं। सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ। यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ, ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौँ। यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि आग्रह गर्दछौँ।’
सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय प्रवक्ताले भनेकी छन्, ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गरिनुपर्दछ। हामी सरकारी अधिकारीहरूलाई शान्तिपूर्ण भेला एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गर्दछौँ।’
