जंगीअड्डामा जेनजी प्रतिनिधिको बैठक: शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठनको प्रस्ताव

Share:

काठमाडौं। जंगीअड्डामा भएको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठनको प्रस्ताव अघि सारेको छ। सो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष प्रस्तुत गरिएको हो।

एक उच्च सैनिक अधिकृतका अनुसार, “उहाँहरूले शुशीला कार्कीको नाम अगाडि सारेका छन्, तर अझै पनि अर्को समूहसँग पनि संवाद भइरहेको छ,” भन्ने जानकारी दिएका छन्। सेनाले पनि कार्की पक्षसँग संवाद अघि बढाउने तयारी गरेको जनाइएको छ।

बुधबार दिनभर जेनजी युवाहरूबीच सामाजिक सञ्जाल मार्फत नेतृत्वको विषयमा व्यापक छलफल भएको थियो। ती छलफलहरूमा कार्कीको पक्षमा उल्लेख्य समर्थन देखिएको थियो।

त्यसैबीच, धेरै युवाहरूले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि अगाडि सारेका थिए। तर उनी सम्पर्कमा नआएको भन्दै केही सहभागीहरूले असन्तुष्टि जनाएका थिए। यद्यपि, मंगलबार साँझ बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै, जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधिहरू जंगीअड्डा पुगेर सेना प्रमुखसँग वार्ताको प्रयास गरेका थिए। तर, १५ जनाभन्दा बढी संख्या लिएर पुगेका कारण सेना प्रमुख सिग्देलले “पहिले आपसमा सहमति गरेर मात्र आउनु” आग्रह गरेका थिए। साथै, वार्ताका लागि संयोजक तोक्नसमेत सुझाव दिएका थिए।

त्यसपछि जंगीअड्डाकै एक कोठामा प्रतिनिधिहरूबीच बैठक बसेको थियो। सो बैठकमा केहीले गणतान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका कारण, रक्षा बमसहितको समूह बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ। अन्ततः बहुमतको सहमतिमा कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने निर्णयमा पुगेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: