ओलीको पत्र: “मेरो सन्तान थिएन, तर तिमीहरू नै मेरा नानीबाबु हौ”

Share:

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीबाट जेनजी पुस्तालाई सम्बोधन गर्दै एक भावुक पत्र लेखेका छन्, जसमा उनले आफ्नो व्यक्तिगत पीडा, विगतका संघर्षहरू र वर्तमान आन्दोलनबारे गहिरो चिन्ता व्यक्त गरेका छन्। सुरक्षाघेराभित्र रहँदै लेखिएको पत्रमा ओलीले युवाहरूप्रति आत्मीयता प्रकट गर्दै भनेका छन्, “जहाँ गए पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ।”

पत्रमा ओलीले हालको आन्दोलनले मुलुकको संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने खतरा बोकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “आज तिमीहरूले आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यही व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ।”

उनले आग्रह गरेका छन् कि युवाहरूले आफ्ना भावनालाई दुरुपयोग गर्न नदिऊन् र कुनै षड्यन्त्रको मोहरा नबनून्। पत्रमा ओलीले स्वयं आफ्ना सन्तान नभएको पृष्ठभूमि, राजनीतिक संघर्षमा भोगेको यातना, र गोलीकाण्डमा ‘आफ्ना छोराछोरी गुमाएको’ अनुभूतिबारे मार्मिक प्रसंग लेखेका छन्।

उनले थपे, “प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो भन्ने सुनेको दिनदेखि मेरो धेरै कुरा सकिएको छ।” ओलीले आफू “जिद्दी स्वभावको व्यक्ति” भएको स्वीकार गर्दै त्यसैकारण देशको सार्वभौम मुद्दा, धर्म-संस्कृति र राष्ट्रहितका पक्षमा अडिग रहेको दाबी गरेका छन्। उनले लेखेका छन्, “लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ।”

त्यसैगरी, भगवान् राम नेपालमै जन्मिएको दाबीसमेत उनले “आस्था होइन, विश्वासको जिद्दी” भन्दै स्पष्ट पारेका छन्। ओलीले लेखेका छन्, “पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो।” उनले युवाहरूसँग आग्रह गरेका छन् कि आजको स्वतन्त्रता सस्तोमा आएको होइन, त्यसैले त्यसको रक्षा गर्नु सबैको दायित्व हो।

कमेन्ट गर्नुहोस्
Share: