जेनजी आन्दोलन: देश नेतृत्वविहीन, राष्ट्रपति पौडेलदेखि ओलीसम्मको ‘उद्धार’ पछि कहाँ छन् नेताहरू ?

Share:

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आकस्मिक राजीनामापछि मुलुक गम्भीर राजनीतिक शून्यता र सुरक्षा संकटमा फसेको छ। राजधानीसहित देशभर फैलिएको जेनजीको जनआन्दोलनपछि उच्च पदस्थ नेताहरू एकपछि अर्को गरी ‘उद्धार’ गरिँदै अज्ञात स्थलतर्फ सारिएका छन्। अहिले देशको कार्यकारी नेतृत्व, व्यवस्थापिका र न्यायपालिकाको उपस्थितिसमेत अस्पष्ट बनेको छ।

राष्ट्रपति पौडेल उद्धारपछि सम्पर्कबाहिर, सेना ‘मौन’

मंगलवार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। तर त्यसयता उनको ठेगाना र अवस्था बारे कुनै औपचारिक विवरण सार्वजनिक गरिएको छैन। सेना प्रवक्ता राजाराम बस्नेतले “जानकारीमा छैन” भन्दै चुप्पी साधेका छन्।

प्रधानमन्त्री ओलीको राजीनामा र ‘गायब’ उपस्थिति

बुधवार दिउँसो २:२४ बजे ओलीको राजीनामा सार्वजनिक गरेसँगै राष्ट्रपतिले उनलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा जिम्मेवारी दिएको घोषणा गरे। तर त्यसयता ओलीको कुनै सार्वजनिक उपस्थितिको प्रमाण छैन। एक स्रोतका अनुसार, उनी बालुवाटारबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका हुन्।

सामाजिक सञ्जालमा “ओली विदेश गएको” चर्चा चले पनि, उनी नेपालमै सुरक्षाको कडाभित्र रहेको दाबी ओलीनिकट व्यक्तिहरूले गरेका छन्।

संविधानका तीनै मुख्य अङ्ग नेतृत्वविहीन

सिंहदरबार, संसद् भवन र शीतल निवास-तीनै प्रमुख शक्ति केन्द्रमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि अवस्था थप संवेदनशील बनिएको छ। सभामुख देवराज घिमिरेलाई पनि सेनाले सुरक्षित स्थानतर्फ सारिसकेको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल सुरक्षाको निगरानीमा सम्पर्कमै रहेका छन्। त्यस्तै, सर्वोच्च अदालत पूर्ण रूपमा जलेपछि बन्द गरिएको छ। मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्म स्थगित गरिएको छ।

पूर्वप्रधानमन्त्री देउवा दम्पतीमाथि आक्रमण

मंगलवार दिउँसो प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवासमा प्रवेश गरेर तोडफोड र आगजनी गरे। टाउकोमा चोट लागेका देउवालाई घरको पछाडिको पर्खालबाट निकाली हेलिकप्टरमार्फत उद्धारको तयारी गरिएको थियो। उनी अस्पतालमा उपचाररत रहेको पुष्टि भए पनि भिडिओहरूको आधिकारिकता पुष्टि भएको छैन।

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि ‘उद्धार’ मा

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संसद् सचिवालयमा बैठकमा सहभागी भइरहँदा सिंहदरबारमा आगजनी सुरु भएको थियो। त्यसपछि उनीहरूलाई पनि सेनाले सुरक्षित स्थानमा सारिएको एक स्रोतले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, जो सोमबार मात्र कारागारमुक्त भएका थिए, मंगलवार साँझ भिडिओ सन्देश जारी गर्दै आफू सुरक्षा निकायको जानकारीमा सुरक्षित स्थानमा रहेको बताए। उनले “म आफूमाथि खतरा देख्छु” भन्दै जेनजी आन्दोलनप्रति समर्थन जनाए।

मुख्यसचिव सक्रिय, तर प्रशासन एक्लो

कार्यकारी नेतृत्व अस्पष्ट हुँदा पनि मुख्यसचिव एकनारायण अर्यालले नेपाल सरकारका सचिवहरूको बैठक राख्दै प्रशासन चलाइरहेका छन्। सुरक्षा निकायसँग संयुक्त विज्ञप्ति जारी गरेर “राजनीतिक संवादको माध्यमबाट समस्याको समाधान” गर्न आह्वान गरिएको छ।

व्यवस्थापिका ठप्प, अदालत बन्द

प्रतिनिधिसभा बैठक अर्को सूचना नभएसम्म स्थगित गरिएको छ। सर्वोच्च अदालत जलेर पूर्ण रूपमा क्षतिग्रस्त, मुद्दाहरू स्थगित छन्। देश अहिले नेतृत्व विहीनताको गम्भीर मोडमा पुगेको छ। राष्ट्रपतिको अज्ञात उपस्थिति, प्रधानमन्त्रीको मौनता, र विपक्षी नेताहरूको उद्धारबीच राज्य संयन्त्रका सबै अंगहरू निरुपाय देखिएका छन्।

जसरी देश ‘सडकबाट सञ्चालन’ हुने अवस्थामा पुग्न थालेको छ, त्यसले अबको नेतृत्व कसले लिने? भन्ने प्रश्नलाई जनताको संविधानसम्मत अधिकार र आशाको निर्णायक मोडमा पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
Share: