
काठमाडौं । मंगलबार देशभर आन्दोलन गरेर सरकारी सम्पत्ति र नेताहरूका घरमा तोडफोड गरेका जेनजी पुस्ताका युवाहरू बुधबार आपसी विवादमा अल्झिए। काठमाडौंस्थित जंगी अड्डामा नेपाली सेनासँग अन्तरिम सरकार र नेतृत्वबारे छलफलका लागि पुगेका उनीहरूबीच विचारमा एकरूपता देखिएन।
स्वतन्त्र र सक्रिय जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि अघि सार्ने निर्णय भर्चुअल बैठकमार्फत गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि कार्कीको समर्थन जनाएका छन्। तर जंगी अड्डामा उपस्थित अन्य पक्ष, विशेषतः राजावादी अभियन्ता दुर्गा प्रसाईं र धरानका मेयर हर्क साम्पाङबीचको विवादले वातावरण तनावपूर्ण बनायो।
भर्चुअल बैठकमा करिब ७ हजार जेनजी युवा सहभागी थिए, जसमा धेरैले सुशीला कार्कीको नाममा समर्थन जनाए। बालेन्द्र साहले सार्वजनिक रूपमा कार्कीको समर्थन गर्दै फेसबुकमा स्टाटस लेखेपछि उनको पक्ष झन बलियो बन्यो। बालेन नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेकाले आफूले प्रत्यक्ष चुनावमार्फत कार्यकारी नेतृत्व स्थापित गर्न चाहेको पनि बुझिएको छ।
उनका अनुसार कार्की राजनीति बाहिरकी, विश्वासिलो र सर्वमान्य पात्र भएकाले संक्रमणकालीन सरकारको नेतृत्व गर्न उपयुक्त विकल्प हुन्। दुर्गा प्रसाईंले बुधबार जंगी अड्डामा प्रधानसेनापति अशोक सिग्देलसँग भेट गरेका थिए। तर यो भेटपछि उनको नेतृत्व अस्वीकार गर्ने धारणा जेनजी युवाबीच बलियो बन्यो। युवाहरूले स्पष्ट रूपमा राजनीतिक आकांक्षा नराख्ने, तटस्थ र सफा छवि भएका व्यक्ति मात्र स्वीकार्य हुने अडान दोहोर्याए।
त्यसैगरी, धरानका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगे पनि, उनीप्रति मिश्रित प्रतिक्रिया देखियो। समर्थकहरूले जंगी अड्डाबाहिर नाराबाजी गरेर कार्कीको विकल्पमा साम्पाङलाई अघि सार्नुपर्ने माग गरे। तर धेरै जेनजी युवा साम्पाङ नेतृत्वका लागि उपयुक्त छैनन् भन्ने निष्कर्षमा पुगेका छन्।
युवाहरूको यो आन्दोलन स्पष्ट एजेन्डा भए पनि नेतृत्वको अभावले अन्योलमा परेको छ। बुधबार जंगी अड्डामा माइकिङमार्फत सेनाले १०/१५ जनाको प्रतिनिधि टोली बनाइ नेतृत्वको नाम टिप्न आग्रह गरेपछि पनि युवाहरूबीच कसले नेतृत्व गर्ने भन्नेमा मतभेद देखियो। युवाहरूले सामूहिक छलफल र सहमतिका आधारमा प्रतिनिधित्व गर्नुपर्ने माग गर्दै कुनै एक समूहलाई मात्र प्रतिनिधित्व गर्न दिन नमिल्ने बताएका थिए।
जेनजी आन्दोलनमा एक समय लोकप्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम अहिले युवाहरूको चर्चाबाट हराएको छ। उनीमाथि लागेको वित्तीय आरोप र राजनीतिक हिसाबले विवादास्पद बनेका कारण उनको नाम नेतृत्वका लागि प्रस्ताव पनि गरिएन। युवाहरूको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि सकारात्मक प्रतिक्रिया दिएकी छन्। भर्चुअल बैठककै क्रममा सम्पर्क गर्दा उनले ‘यदि आवश्यक पर्यो भने’ नेतृत्वका लागि तयार रहेको जनाएकी थिइन्।
उनले भनेकी छन्, “म नेतृत्व गर्न तयार छु, तपाईंहरू मेरो पछाडि दृढ रहनुहोस्।” के पूर्वप्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न सक्छन् त ? यसबारे संविधानविद् डा. विपीन अधिकारी भन्छन्, “संविधानले रोक लगाए पनि राजनीतिक रूपमा सम्भव छ। कार्की नेतृत्वमा सरकार बनेर चुनावसम्म जान सकिन्छ।”
वर्तमानमा देशको शक्ति नेपाली सेनाको हातमा केन्द्रित देखिन्छ। सेनाले युवाहरूसँग संवाद गरेर संक्रमणकालीन सरकारको संरचना तयार गर्ने प्रयास गरिरहेको छ। राजनीति बाहिरको, स्वतन्त्र छवि भएका व्यक्तिले नेतृत्व गर्नुपर्ने माग बलियो बन्दै गएको छ। स्रोतहरूका अनुसार कार्कीको नाममा सहमति बढिरहेको छ। यदि नयाँ विवाद नउब्जिए, भने उनीकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सम्भावना बलियो देखिन्छ।
