
पोखरा । जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गोरखाका तीन युवाको ज्यान गएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट-५ नारेश्वरडाँडाका २२ वर्षीय विमल भट्ट, गण्डकी-४ ढाबाका २३ वर्षीय अर्जुन भट्ट, र पालुङ्टार–३ बर्देडाँडाका करिब ४० वर्षीय रमेश पराजुली रहेका छन्।
विमल भट्टको संसद् भवनअगाडि सोमबार दिउँसो ३:३० बजे प्रदर्शनका क्रममा निधारमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनी जलकन्यादेवी माविबाट माध्यमिक शिक्षा सकेर उच्च शिक्षाका लागि काठमाडौंमा बस्दै आएका थिए।
अर्जुन भट्टको पनि सोही दिन दिउँसो करिब २ बजे थापाथलीमा भएको विरोध प्रदर्शनको क्रममा टाउकामा गोली लागेर ज्यान गएको हो। दुबईमा दुई वर्ष काम गरेर एक महिनाअघि मात्र नेपाल फर्केका उनले हाल जापानी भाषा अध्ययन गर्दै आएका थिए।
रमेश पराजुलीको मृत्यु मंगलबार दिउँसो २:३० बजे काठमाडौंको महाराजगञ्ज प्रहरी चौकीअगाडि भएको प्रदर्शनका क्रममा भएको हो। तारकेश्वर–१ साङ्लाफाँटमा व्यवसाय गर्दै आएका पराजुलीको छातीमा गोली लागेर मृत्यु भएको बताइएको छ।
