पोखराका व्यावसायिक संघसंस्थाको अपिल- “अराजकता थेग्न सक्ने अवस्था छैन, शान्ति र सुशासनमा फर्कनु आवश्यक”

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघ तथा त्यससँग आवद्ध ३० वटा बस्तुगत संघसंस्थाहरूले देशमा हाल देखिएको राजनीतिक तथा सामाजिक गतिरोध अन्त्यका लागि सम्बद्ध सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले देशले थप अराजकता र हिंसात्मक गतिविधि थेग्न नसक्ने भन्दै तत्काल कानूनी शासन, स्थायी शान्ति र सहमतिको मार्गमा प्रवेशको माग गरेका छन्।

शुक्रबार जारी गरिएको संयुक्त अपिलमा संवैधानिक संस्थाहरूबाट गतिरोध अन्त्यका लागि भइरहेका पहलको स्वागत गर्दै तत्काल संक्रमणकालको अन्त्य र शान्ति सुरक्षाको सुनिश्चितताको माग गरिएको छ। अपिलमा भनिएको छ, “संक्रमणकाल लम्बिँदा अराजकता र अस्थिरता चाहने समूहहरू सक्रिय हुने गर्छन्। स्वार्थ समूह तथा आपराधिक प्रवृत्तिका व्यक्तिहरू हावी हुन खोज्छन्, जसलाई रोक्न कार्यपालिका सक्रिय र सुरक्षा व्यवस्था मजबुत हुनुपर्छ।”

निजी क्षेत्र आत्मनिर्भर अर्थतन्त्र निर्माण, उद्योग व्यवसायको प्रवर्द्धन तथा युवाहरूलाई रोजगारी सिर्जना गर्न सधैं तत्पर रहेको उल्लेख गर्दै अपिलमा भनिएको छ, “निजी क्षेत्रको मनोबल नउकासिएसम्म, लगानीको लागि उपयुक्त वातावरण र शान्ति सुरक्षा सुनिश्चित नगरेसम्म समृद्धि सम्भव छैन भन्नेमा सबै सरोकारवालाको ध्यान जानुपर्छ।”

भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै अपिलमा होनहार नवयुवाको बलिदानीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यद्यपि, आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटले समृद्धिको मार्गलाई बाधा पुर्‍याएको भन्दै व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। “व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण हुनु व्यक्तिगत सम्पत्तिमाथिको अधिकारको उल्लंघन मात्र होइन, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीलाई समेत निराश तुल्याउने कार्य हो,” अपिलमा भनिएको छ।

जेनजी आन्दोलनमा भएको घुसपैठको स्वतन्त्र छानबिन गर्दै आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कडा कारबाही र क्षतिपूर्ति सुनिश्चित गर्न अपिलमा माग गरिएको छ। साथै, अरबौंको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको उल्लेख गर्दै व्यवसायीहरूलाई प्रशासनबाट जारी निर्देशनहरूको पालना गर्न र आफ्ना उद्योग व्यवसायको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरू सतर्क र एकजुट हुनुपर्ने सन्देश दिँदै प्रशासनलाई अझ सक्रिय भएर अपराध नियन्त्रणमा लाग्न पनि माग गरिएको छ।

संयुक्त अपिलमा हस्ताक्षर गर्नेहरूमा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, अधिकृत बिक्रेता संघ कास्की अध्यक्ष मनोजकुमार श्रेष्ठ, कपडा व्यवसायी एसोसिएसन अध्यक्ष लेखनाथ पौडेल, इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष चिन्तामणि खरेल, हस्तकला संघ अध्यक्ष सीता गुरुङ, भाँडा व्यवसायी संघ अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कस्मेटिक व्यवसायी संघ अध्यक्ष लक्ष्मणप्रसाद आचार्य, प्लास्टिक व्यवसायी समिति अध्यक्ष पर्शुराम तिवारी, जुत्ता व्यवसायी संघ अध्यक्ष हेमकृष्ण श्रेष्ठ, हार्डवेयर एशोसिएसन अध्यक्ष अर्जुनबहादुर थापा, फेन्सी तथा रेडिमेड व्यवसायी संघ अध्यक्ष यादवप्रसाद पोखरेल, सुनचाँदी व्यवसायी संघ अध्यक्ष भविन्द्र विश्वकर्मा, इलेक्ट्रिक क्लब अध्यक्ष अमृत पोखरेल, मदिरा व्यवसायी समिति वरिष्ठ उपाध्यक्ष नेत्र ढुंगाना, थोक व्यवसायी संघ पोखरा महासचिव शम्भुनाथ योगी लगायत छन्।

त्यसैगरी, अपिलमा आन्दोलनको नेतृत्व गरिरहेको जेनजी पुस्तालाई संयम, रचनात्मकता र जिम्मेवारीका साथ अघि बढ्न, अराजकता र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न आग्रह पनि गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: