
पोखरा । हालै सम्पन्न जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाहरूका क्रममा पोखराका विभिन्न होटल तथा रिसोर्टमा तोडफोड र आगजनी हुँदा तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ। होटल संघ पोखरा-नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेकसाइड क्षेत्रका पर्यटकीय प्रतिष्ठानहरूमा भएको क्षतिको विवरण उल्लेख गर्दै सो परिमाणको सम्पत्ति नोक्सानी भएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न तथा पीडित व्यवसायीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार, इन्सुरेन्स कम्पनी र सम्बन्धित सरोकारवाला पक्षहरूलाई संघ हार्दिक अपिल गर्न चाहन्छ।”
संघले आक्रमणकारीको पहिचान गरी कानूनी दायरामा ल्याउन शक्तिशाली अधिकार प्राप्त न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै, पीडित होटलहरूको मर्मत-संभार तथा पुनर्निर्माणमा सरकार, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
लेकसाइड क्षेत्रमा अवस्थित होटल सरोवर प्रा।लि।, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रा।लि।, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालि लगायतका प्रतिष्ठानहरूमा भएको आगजनी र तोडफोडका कारण ती होटलहरूमा सेवा लिइरहेका पर्यटकसमेत प्रभावित भएको संघले जनाएको छ।
संघले पर्यटकीय सिजन सुरु हुनै लाग्दा घटेका यस्ता घटनाहरूले सम्पूर्ण पर्यटन क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव पार्ने स्पष्ट संकेत दिएको उल्लेख गरेको छ। व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्नसमेत असमर्थ हुने अवस्था आएको भन्दै संघले नेपाल सरकारसँग व्यवसायिक सुरक्षाको सुनिश्चितताका लागि जोडदार माग गरेको छ।
शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा जुनसुकै पक्षबाट गरिएका आक्रमण, आगजनी र तोडफोडप्रति संघले गम्भीर आपत्ति जनाउँदै ती कार्यहरूलाई पूर्ण रूपमा भर्त्सना गरेको छ। संघको विज्ञप्तिमा भनिएको छ, “यस्ता घटनाबाट न केवल अरबौंको क्षति भएको छ, हजारौं कामदारसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जुन अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो।” संघले पीडित व्यवसायीप्रति सहानुभूति प्रकट गर्दै, यथाशीघ्र राहत, पुनर्निर्माण तथा कानूनी कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई पुनः आह्वान गरेको छ।
