
पोखरा। जेनजी आन्दोलनका बीच नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले हालैका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै औपचारिक विज्ञप्ति जारी गरेको छ। पार्टीले शान्तिपूर्ण आन्दोलनप्रति सम्मान जनाउँदै हिंसा, तोडफोड र आगजनीजस्ता गतिविधिको तीव्र विरोध गरेको छ।
गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र एमालेका कार्यालयहरूमा आक्रमणजस्ता गतिविधिले गम्भीर चिन्ता उत्पन्न गराएको छ।”
पार्टीले संविधान र विद्यमान राजनीतिक व्यवस्थाभित्र रहेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुरूप रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
एमालेले सबै नागरिकलाई भावनात्मक बहकाउमा नपरी विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै भनेको छ, “यो कठिन घडीमा धैर्यता, समयअनुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ। हामी लोकतान्त्रिक मूल्यमान्यताका पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौं।”
विज्ञप्तिमा युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान जनाइए तापनि, आन्दोलनमा हिंसात्मक प्रवृत्तिको प्रवेशलाई घातक भनी मूल्यांकन गरिएको छ।
गण्डकी प्रदेश कमिटीले संगठनात्मक बैठकमार्फत आगामी रणनीति तय गर्दै अघि बढ्ने उल्लेख गर्दै पार्टीभित्र संयमित, दृढ र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाइने संकेत दिएको छ।
