
काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले क्षति पुर्याएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको आज प्रधानमन्त्री सुशीला कार्कीले स्थलगत निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्यलाई अस्वीकार्य ठहर गर्दै दोषीमाथि कडा कारबाही हुने चेतावनी दिइन्।
लोकतन्त्रको नाममा तोडफोड होइन, जिम्मेवार अभ्यास चाहिने प्रधानमन्त्री कार्कीको भनाइ थियो। उनले शान्तिपूर्ण अभिव्यक्ति हरेक नागरिकको अधिकार भए पनि त्यसको आडमा राज्यसंस्थामाथि आक्रमण गर्नेलाई कानुनी कठघरामा ल्याइने स्पष्ट पारिन्।
प्रधानमन्त्रीले क्षतिग्रस्त भवन, फर्निचर र अभिलेखको स्थलगत अवलोकन गर्दै सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न निर्देशन दिइन्। उनले प्रहरीलाई धन्यवाद दिँदै भनिन, ‘राज्यका अंगमाथिको आक्रमणको प्रतिकार गर्नुपर्ने समय आएको छ। जनताको सुरक्षाका लागि खटिने तपाईंहरूको धैर्यता र समर्पणलाई सरकारले उच्च कदर गर्छ।’










