पोखराका सडक अस्तव्यस्त, सेना फर्कियो, तर ट्राफिक प्रहरी अझै गायब

Share:

पोखरा। जेनजी पुस्ताको आन्दोलनले राज्यको संरचनामा ठूलो क्षति पु¥याएपछि देशभर २४ गते रातिदेखि कफ्र्यू र निषेधाज्ञा लागू गरिएको थियो। तर, शुक्रबार राति नयाँ प्रधानमन्त्रीको चयनसँगै शनिबारदेखि पोखरामा सेना ब्यारेक फर्किएको छ, र कफ्र्यू तथा निषेधाज्ञा क्रमशः हटाइएको छ।

तर, शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भने अझै नियमित ड्युटीमा फर्किन सकेको छैन। विशेषतः ट्राफिक प्रहरीको अनुपस्थितिले शनिबार पोखराका मुख्य सडकहरू अस्तव्यस्त बनेका छन्। पृथ्वीचोक, सिर्जनाचोक, जिरोकिलोमिटर, महेन्द्रपुल र नदीपुरजस्ता व्यस्त स्थानहरूमा प्रहरी नदेखिँदा यातायात प्रणालीमा अव्यवस्था देखिएको छ।

आन्दोलनका क्रममा ट्राफिक प्रहरीका पोशाक, सामग्री र भौतिक संरचनामा क्षति पुगेकाले तत्काल सडकमा फिर्ता हुन नसकेको कास्कीका प्रहरी प्रमुख एसपी श्याम ओलियाले  जानकारी दिए।

“प्रहरीका सबै सामग्री जलाइएका छन्, यहाँसम्म कि पोशाक समेत खोलाएर जलाइएको छ। त्यसैले ट्राफिक प्रहरी खटिन नसकेको हो,” एसपी ओलियाले भने।

उनका अनुसार कास्की जिल्लाका अधिकांश प्रहरी कार्यालय र बिटहरू तोडफोड तथा आगजनीमा परेका छन्। “हाल हामी सरसफाइ तथा पुनःस्थापनामा जुटिरहेका छौं। चाँडै नै नियमित सेवामा फर्किनेछौं,” उनले थपे।

कमेन्ट गर्नुहोस्
Share: