कामना सेवा विकास बैंकले दियो पोखरामा वडा कार्यालयलाई कुर्सी र प्रहरीलाई कम्प्युटर

Share:

पोखरा। जनजी आन्दोलनले क्षति पुर्‍याएका सरकारी संरचनाहरूको पुनःस्थापनाका लागि कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पोखरा महानगरपालिका-३० र जिल्ला प्रहरी कार्यालय कास्कीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ। बैंकले वडा नम्बर ३० को कार्यालयलाई टेबल र कुर्सी, र प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

आन्दोलनले सबै फर्निचर जलेर नष्ट

जनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनको क्रममा पोखरा-३० वडा कार्यालयका सम्पूर्ण फर्निचर र उपकरण जलेर नष्ट भएका थिए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, कास्की पनि आन्दोलनको चपेटामा परेका कारण दैनिक प्रशासनिक कामकाज ठप्प भएको थियो। बैंकले हस्तान्तरण गरेका सामग्रीहरू दुवै कार्यालयका लागि अत्यावश्यक रहेको बताइएको छ।

वडा कार्यालयलाई टेबल-कुर्सी, प्रहरीलाई कम्प्युटर-प्रिन्टर

कामना सेवा विकास बैंकको ढुंगेपाटन शाखाकी प्रबन्धक लक्ष्मी ढकालले वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई टेबल र कुर्सी हस्तान्तरण गरिन्। वडाध्यक्ष सुवेदीले कार्यालय पुनः सञ्चालन गर्न सहयोग पुर्‍याएकोमा बैंकलाई धन्यवाद दिँदै अन्य निकायलाई पनि पुनर्निर्माणमा हातेमालो गर्न आग्रह गरिन्।

त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। बैंकका अनुसार आन्दोलनका कारण कार्यालय पूर्णरूपमा जलेर कामकाज गर्न नसक्ने अवस्थामा पुगेका कारण तत्काल प्रयोगमा ल्याउन सकिने सामग्रीहरू प्रदान गरिएको हो।

CSR अन्तर्गत पुनर्निर्माणमा बैंक सक्रिय

कामना सेवा विकास बैंकले पोखराका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय तथा प्रहरी कार्यालयहरूलाई मर्मत, पुनर्निर्माण र अत्यावश्यक सामग्री प्रदान गर्दै आएको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमैत्री विकासमा हातेमालो गर्न प्रतिबद्ध रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: