
पोखरा । २१ वर्षअघि कलाकार प्राज्ञ नगेन सिंहद्वारा सिर्जना गरिएको विचारशील चित्रकला ‘नेपालमा नारीको शासन’ अहिले फेरि चर्चाको केन्द्रमा आएको छ। तत्कालीन राजतन्त्रको सक्रिय शासनकालमा चित्रकार सिंहले कल्पनामा उतारेको यो चित्रले आजको परिवेशसँग अद्भुत समानता पाएको छ, जसले कलाको भविष्यद्रष्टा पक्षप्रति जनचासो बढाएको छ। २०६१ सालमा काठमाडौंको ललितकला क्याम्पसमा बीएफए कम्पोजिसन कक्षामा पानी रङमा तयार गरिएको यो चित्र कलाकार सिंहका अनुसार हाइपोथेटिकल कल्पनामा आधारित थियो। तर अहिले २०८२ सालमा आइपुग्दा देशमा महिला नेतृत्व र शासन प्रणालीको सशक्त उपस्थिति देखिन थालेपछि, चित्रको महत्व झनै गहिरिएको छ।
“त्यतिबेला दिनदिनै रत्नपार्कमा आन्दोलन हुन्थ्यो, देश अशान्त थियो,” प्राज्ञ सिंह सम्झन्छन्, “त्यही बेला मैले कल्पना गरेँ– यदि महिलाको नेतृत्वमा शासन भयो भने सायद नेपाल शान्त, समुन्नत र सुन्दर बन्नेछ।” यही सोचले प्रेरित भई उनले २ फिट ४ इन्च बाइ ५ फिट १० इन्चको क्यान्भासमा ऐक्रेलिक रंग प्रयोग गरी यो चित्र तयार गरेका थिए।
उक्त कलाकृति काठमाडौंमा आयोजित ‘माई रिजेक्टेड आर्ट’ नामक चौथो एकल प्रदर्शनीमा समावेश गरिएको थियो, जुन नेपालमा पहिलो पटक टिकट प्रणाली लागू गरी गरिएको कला प्रदर्शनी थियो। रु ५ को टिकट काटेर मात्रै अवलोकन गर्न पाइने यो प्रदर्शनीले धेरै कलाकार, पत्रकार र कलाप्रेमीको ध्यान तानेको थियो।
“तत्कालीन दर्शकहरूले ‘यो सम्भव होला र ?’ भन्दै मलाई हाइपोथेटिक चित्रकार भनेर आलोचना गरे,” सिंह भन्छन्, “तर आज त्यो कल्पना यथार्थमा बदलिएको देख्दा म दंग छु।”
कलाकार सिंहको अनुसार, कलालाई ‘अघोषित सांसद’ भनिन्छ भन्ने भनाइले अब थप अर्थ राख्न थालेको छ। “हामी कलाकार भविष्यको झल्को दिने क्यानभास रच्न सक्छौँ भन्ने यो कलाकृति त्यसको प्रमाण हो,” उनी थप्छन्।
प्राज्ञ सिंह अहिले ‘जय कला क्रान्ति- विश्वमा छाओस् शान्ति’ भन्ने आदर्श वाक्यका साथ ‘नेपाल यात्रा पुस्तक’ मार्फत सन् २०२९ (विसं २०८७) सम्म नेपालमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यमा समर्पित छन्।
हाल उक्त चर्चित ‘नेपालमा नारीको शासन’ शीर्षकको चित्र पोखरा महानगरपालिका वडा नं ८, न्यूरोडस्थित ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ सम्पर्क कार्यालयमा सर्वसाधारणका लागि अवलोकन योग्य बनाइएको छ। कलाको माध्यमबाट देश विकासको सपना देखाउने कलाकार सिंहको यो प्रयास कला, समाज र राष्ट्र निर्माणको अनुपम उदाहरण बनेको छ।
