
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैको आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाहरूको निरीक्षण गरेका छन्। निरीक्षणकै क्रममा कास्की प्रहरीले प्रहरीकै पोशाक एसपीको ड्रेस लगाएर आन्दोलनमा सहभागी भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ।
मुख्यमन्त्री पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभा सचिवालय लगायतका आगलागी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको प्रत्यक्ष अवलोकन गरे। उनले आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक कार्यलाई विध्वंसकारी गतिविधि भन्दै स्पष्ट रुपमा भर्त्सना गरे।
“कतैबाट पनि यसलाई आन्दोलन भन्न मिल्दैन। यो अराजक र योजनाबद्ध विध्वंस हो,” मुख्यमन्त्री पाण्डेको टिप्पणी थियो। निरीक्षणका क्रममा कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले सुरक्षा अवस्थाबारे मुख्यमन्त्रीलाई ब्रिफिङ गर्दै, भदौ २४ गते साँझ कास्की प्रहरी हिरासतबाट १२५ जना थुनुवा भागेको खुलासा गरेका छन्। तीमध्ये ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए।
ब्रिफिङ अनुसार, प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा एक जनालाई पहिले नै पक्राउ गरिएको थियो। उक्त व्यक्ति एसपीको पोशाकमा रहेको देखिएको जानकारी एसपी ओलियाले मुख्यमन्त्रीलाई दिएका हुन्। यद्यपि, पक्राउ परेका व्यक्तिको परिचय भने अझै सार्वजनिक गरिएको छैन।
एसपी ओलियाका अनुसार, बाँकी संलग्न व्यक्तिहरूलाई प्रहरी संरचना मर्मतपश्चात मात्र नियन्त्रित रूपमा पक्राउ गर्ने रणनीति बनाइएको छ। हाल हिरासतमा रहेका व्यक्तिहरू मुख्यतः भदौ २३ पछिका मापसेसहित अन्य आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
