
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले भदौ २३ र २४ गते देशभर भएका आन्दोलनबाट प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावबारे गहिरो छलफल गरेको छ।
बैठकले आन्दोलनको क्रममा भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
बैठकको एक महत्त्वपूर्ण निर्णयका अनुसार, आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हतियारहरू फिर्ता गर्न सार्वजनिक आह्वान गरिनेछ। यदि निर्धारित समयसीमाभित्र हतियार फिर्ता नगरेमा विषयगत अपराधका रूपमा कडा कानुनी कारबाही थालिने चेतावनी बैठकले दिएको छ।
शान्ति सुरक्षामा क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी शीघ्र कानुनी कारबाही अघि बढाउने निर्देशन दिएको छ। साथै, सबै सुरक्षा निकायहरूलाई सजगतापूर्वक समन्वयमा रहेर कार्य गर्न आग्रह गरिएको छ।
बैठकले सम्भावित शान्ति सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नागरिक समाजसँगको सहकार्यमा सूचना आदानप्रदान र आपसी समन्वयलाई प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ।
वर्षायाम कायमै रहेका कारण सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै सम्पूर्ण जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई पूर्वतयारी र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ।
आगामी चाडपर्वहरू लक्षित सुरक्षा योजनालाई समेत कार्यान्वयनमा ल्याई सुरक्षा व्यवस्था थप सुदृढ बनाइने निर्णय बैठकले गरेको छ।
