जेनजी आन्दोलनमा मृत्यु भएका अधिकांशको टाउको र छातीमै गोली

Share:

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको हृदयविदारक घटनाले नेपाललाई स्तब्ध बनाएको छ। यस आन्दोलनमा परी हालसम्म ७३ जनाको ज्यान गइसकेको छ। जसमा ३९ जनाको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा सम्पन्न भएको छ। पोस्टमार्टम रिपोर्टले मृतकहरूको शरीरमा लागेका चोटहरूको भयावह चित्रण गरेको छ।

अधिकांशको कम्मरमाथि गोली

फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, पोस्टमार्टम गरिएका ३९ जनामध्ये ३६ जनाको कम्मरभन्दा माथिको भागमा गोली लागेर मृत्यु भएको छ। अधिकांशको टाउको र छातीमा गोली भेटिएको छ, जुन तत्काल मृत्युको कारण बनेको देखिन्छ। कतिपयको टाउको र मुटु छेडिएर गोली शरीरबाट बाहिर निस्केको थियो भने कतिपयको शरीरका विभिन्न भागमा गोली अड्किएको थियो। तीन जनाको अत्यधिक रक्तस्राव र करङ भाँचिएर मृत्यु बाँकी तीन जनाको भने गोली नलागे पनि चोटपटकका कारण अत्यधिक रक्तस्राव र करङ भाँचिएर मृत्यु भएको रिपोर्टले देखाएको छ।

तत्काल मृत्यु र ढिलो मृत्यु

चिकित्सकहरूका अनुसार, टाउको र छातीमा गोली लागेका अधिकांशको मृत्यु एक घण्टाभित्रै भएको थियो। डा। सन्तोष पौडेलले चोटपटकबाट हुने मृत्युलाई तीन चरणमा विभाजन गरेका छन् । जसमा इमिडियट डेथ अर्थात् तत्काल मृत्यु यो भनेको घटना भएको केही मिनेट वा पहिलो घण्टाभित्र हुने मृत्यु हो। जसमा गोली वा चोटपटकले महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुर्‍याउँछ। यस्ता घटनामा चिकित्सकले धेरै गर्न सक्दैनन्।

प्रदर्शनमा मृत्यु भएकामध्ये ५० प्रतिशत तत्काल मृत्युको शिकार भएका छन्। अर्ली डेथ अर्थात् केही घण्टाभित्रको मृत्यु यो भनेको अस्पताल पुगेको केही घण्टा वा दिनभित्र हुने मृत्यु हो। यो चरणमा सघन उपचार र अपरेसनले ज्यान बचाउने सम्भावना रहन्छ। ३० प्रतिशत मृत्यु यस चरणमा हुन्छ। लेट डेथ अर्थात् केही दिन वा हप्तापछि मृत्यु यो भनेको इन्फेक्सन, मल्टिपल अर्गान फेलियर जस्ता कारणले हप्तौंभित्र हुने मृत्यु हो । २० प्रतिशत मृत्यु यस चरणमा हुन्छ।

विभिन्न अस्पतालका भयावह दृश्य

निजामती अस्पतालमा ६ जनाको मृत्यु भएको थियो। मृतकहरूको छाती (मुटुको छेउ), टाउको र घाँटीमा गोली लागेको थियो। यस्तै, ट्रमा सेन्टरमा सोमबार ८ जनाको मृत्यु भएको थियो। घटनाको पहिलो एक घण्टामा चार जनाको मृत्यु भएको थियो, जसमध्ये तीन जना अस्पताल नपुग्दै र एक जना उपचार गर्दागर्दै। चार जनाको मुटुको छेउमै गोली लागेको थियो। वीर अस्पतालमा मंगलबार गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भयो।

दुवैलाई दिमागको भागमा गोली लागेको थियो। एक जनाको अत्यधिक रक्तस्राव र हड्डी फुटेको थियो, कोमामा गएकाले बचाउन सकिएन। अर्काको गर्दनमाथि गोली लागेको थियो। काठमाडौं मेडिकल कलेज केएमसीमा मृत्यु भएका दुई युवामध्ये एकको छाती र अर्कोको घाँटीमा गोली लागेको थियो।

जलेका शव र घाइतेको अवस्था

हालसम्म फोरेन्सिक विभागमा आएका ४६ शवमध्ये ७ वटा पूर्ण जलेको अवस्थामा छन्, जसको पोस्टमार्टम प्रक्रिया केही दिनपछि सुरु गरिनेछ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ३१६ जना घाइते भएका छन्, जसमध्ये हाल २८३ जना उपचाररत छन्। घाइतेहरूमध्ये धेरैको खुट्टा, तिघ्रामा गोली र छातीमा छर्रा लागेको छ। यी घटनाहरूले प्रदर्शनकारीहरूमाथि भएको अत्यधिक बल प्रयोग र त्यसका भयावह परिणामहरूलाई उजागर गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: