
पोखरा। पोखरा उद्योग वाणिज्य संघले मुलुकमा दिगो शान्तिको कामना तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि पोखरामा बृहत मौन शान्ति र्यालीको आयोजना गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा र्याली गैह्रापाटनस्थित संघको सचिवालयबाट सुरु भई महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड हुँदै पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो।
संघसँग आवद्ध विभिन्न बस्तुगत संघ/संस्था, उद्योगी तथा व्यवसायीहरू मुखमा सेतो पट्टी बाँधेर र्यालीमा सहभागी भएका थिए। संघका अध्यक्ष कार्कीका अनुसार, हाल देशमा बढ्दो अशान्ति, असुरक्षा र व्यावसायिक संकटका कारण व्यवसायीहरू मानसिक तनावमा रहेको भन्दै शान्तिपूर्ण माहोलको मागसहित र्याली गरिएको हो।
उनले र्याली जनआन्दोलको क्रममा दिवंगत भएकाहरूको चीरशान्तिको कामना, देशमा व्याप्त अशान्तिको अन्त्य तथा व्यावसायिक वातावरणको निर्माण का लागि आयोजित गरिएको जानकारी दिए।
