
पोखरा । पाँच महिनादेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका-२६ का अमृत रानाभाटलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ। वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले यूएईबाट रानाभाटलाई उद्धार गरी मंगलबार परिवारको जिम्मा लगाएका हुन्।
अमृत रानाभाट सन् २०२३ मा रोजगारीको सिलसिलामा जिप्सन बोर्ड हेल्परको कामका लागि यूएई गएका थिए। सुरुमा १,१०० दिराम तलबमा गएका उनी, तोकिएको पारिश्रमिक नपाएपछि पहिलो कम्पनी छाडेर अर्को ‘झमर टेक्निकल सर्भिस’ मा गएका थिए। तर त्यहाँ पनि नियमित तलब नपाएपछि उनी कामविहीन भएर सडकमै बस्न बाध्य भए।
विगत पाँच महिनादेखि उनी अलपत्र अवस्थामा थिए। कहिले सडकमा, कहिले नेपाली कामदारहरू बस्ने ठाउँ वरिपरि बेवारिसे अवस्थामा दिन बिताउँदै आएका अमृतले भने, “घरमा फोन गर्ने पैसा थिएन, मोबाइल पनि थिएन। कतिपटक घर फर्किन चाहें, तर कोही साथ दिन तयार भएन।”
एक कार्यक्रमका लागि यूएई गएका वडाध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत अमृतको अवस्था थाहा पाएपछि उद्धार गरेर नेपाल फर्काएका हुन्। घर फर्केपछि आमाले छोरालाई अँगालोमा बेर्दै भनिन्, “हामीलाई वडाध्यक्ष भगवान झैं लाग्यो। छोरालाई टिकटकमा अलपत्र परेको भिडियो गाउँलेले देखाएपछि मात्रै हामीलाई थाहा भयो।”
अब गाउँमै बस्ने निर्णय गरेका अमृतले भने, “गाउँमै कृषि गरेर आमा र दाजुभाइसँग बस्नेछु।” वडाध्यक्ष थापाले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नु आफूहरूको कर्तव्य भएको बताए। साथै, अमृतलाई रोजगारीको अवसर उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। अमृत रानाभाट पाँच वर्षअघि करिब एक लाख रुपैयाँ खर्च गरेर ‘प्याराडाइज’ नामक म्यानपावर कम्पनीमार्फत यूएई गएका थिए।
