आज कहाँ-कहाँ हुनेछ वर्षा ?

Share:

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ। साथै, अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: