
पोखरा । पछिल्ला दिनहरूमा चलेको जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न सरकारी कार्यालयहरूबाट लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न महानगरपालिकाले कडा चेतावनी जारी गरेको छ। पोखरा महानगरपालिका, वडा कार्यालयहरू तथा मातहतका अन्य निकायहरूबाट ठूलो मात्रामा सामग्रीहरू चोरी तथा तोडफोड भएको पुष्टि सीसीटिभी फुटेज, सामाजिक सञ्जालमा भाइरल भएका फोटो तथा भिडियोहरूबाट भइसकेको छ।
महानगरपालिकाले यस्तो अनधिकृत तथा आपराधिक क्रियाकलापमा संलग्न सबैलाई चोरी गरिएका सामग्रीहरू तत्काल ‘पोखरा सभागृह’मा बुझाउन आह्वान गरेको छ। “स्वेच्छाले सामग्री फिर्ता नगरेमा दोषीहरू पहिचान गरी प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिनेछ,” महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
पोखरा महानगरपालिकाले सबै जनतालाई शान्तिपूर्ण आन्दोलन र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
