जेनजी सहिदप्रति श्रद्धाञ्जलीसहित पोखराका चोक-चोकमा दीप प्रज्वलन

Share:

पोखरा । जेनजी आन्दोलनका क्रममा दिवङ्गत भएका सहिदहरूको सम्झनामा पोखराका प्रमुख चोकहरूमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।

विभिन्न संघ/संस्थाहरूका साथै सर्वसाधारणले पनि स्वतःस्फूर्त रूपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए। यसै सन्दर्भमा सरकारले बुधबारलाई शोक दिवस घोषणा गरेको थियो।

शहिदचोक, पृथ्वीचोक, महेन्द्रपुल, सिर्जनाचोक लगायत पोखराका मुख्य चोकहरूमा दीप प्रज्वलन गरिएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, पोखरामा रहेका गोरखालीहरूले जेनजी प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्मानमा दीप प्रज्वलन गरेका छन्। यो प्रदर्शनका क्रममा गोरखाका मात्रै ३ जनाले सहादत प्राप्त गरेका थिए।

२२ वर्षका विमलबाबू भट्ट, २८ वर्षका अर्जुन भट्ट र ४२ वर्षका अनिश पराजुली प्रदर्शनका क्रममा ज्यान गुमाएका थिए।

त्यस्तै, विभिन्न वडा कार्यालयहरू, पर्यटकीय क्षेत्रहरू तथा अन्य स्थानहरूमा समेत सहिदप्रति सम्मान प्रकट गर्दै दीप बालिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: