कास्की कारागारबाट भागेका ७७३ मध्ये ३४८ जना फर्किए, ४२५ कैदीबन्दी अझै फरार

Share:

पोखरा। जेनजी आन्दोलनका क्रममा कास्की कारागार तोडफोड गरी भागेका कैदीबन्दीमध्ये ३४८ जना बुधबारसम्ममा कारागार फर्किएका छन् भने ४२५ जना अझै फरार रहेको कास्की कारागार कार्यालयले जनाएको छ। गत भदौ २४ गते राति भएको घटनामा ३५ महिलासहित ७७३ जना कैदीबन्दी कारागारबाट भागेका थिए। त्यसै राति जिल्ला प्रहरी कार्यालयको हिरासतबाट पनि ८३ जना थुनुवा फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार केही कैदीबन्दी आफैं फर्किएका छन् भने केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको छ।

“फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय छ,” उनले भने । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार टोलछिमेक र सार्वजनिक स्थानहरूमा फरार कैदी र थुनुवाहरू देखिएमा यथाशीघ्र प्रहरी वा कारागार कार्यालयलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा एक आह्वान जारी गर्दै फरार कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गरेका थिए। विभागले चेतावनी दिँदै भनेको छ, “यदि कैदीबन्दीहरूले आफैं नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरी नियन्त्रणमा लिइनेछ।”

जेनजी आन्दोलनको प्रभाव गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दी जिल्लामा देखिएको थियो, जहाँका विभिन्न कारागारबाट सयौं कैदीबन्दी फरार भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: