
पोखरा । कास्की कारागारबाट भदौ २४ गते फरार भएका अमेरिकी नागरिक मिचेल नोर्मान टेलर काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार काठमाडौंको महाराजगन्जबाट टेलरसहित दुई जना फरार कैदीलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत कास्कीको आदेशअनुसार बाल यौन दुराचारको मुद्दामा कैद सजाय भोगिरहेका टेलर कारागार आक्रमणका बेला भागेका थिए। सीआईबीका डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ परेका कैदीहरूलाई पुनः सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया सुरु गरिएको छ।
फरारमध्ये ३७२ कैदी अझै सम्पर्कबिहीन
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले कास्की कारागार र बाल सुधार गृहमा आक्रमण गरेपछि कैदीबन्दी र सुधार गृहका बालकहरू भागेका थिए। त्यसयता केही कैदीबन्दी फर्किए पनि अधिकांश अझै फरार छन्। कास्की कारागारका प्रमुख राजेन्द्र शर्माका अनुसार असोज ६ गतेसम्म करिब ४ सय जना कैदी फर्किसकेका छन्। तर अझै ३७२ जना कैदी सम्पर्कमा आएका छैनन्।
“सम्पर्कमा नआएकाहरूको विषयमा प्रहरीलाई सूचना दिइएको छ। उनीहरूलाई खोजी गरी ल्याउने काम भइरहेको छ,” शर्माले जानकारी दिए। कास्की कारागारमा आन्दोलनअघि कुल ७७३ जना कैदीबन्दी थिए। तीमध्ये ३५ जना महिलाको लागि छुट्टै ब्लकमा र बाँकी ७३८ जना पुरुष कैदी दुई वटा ब्लकमा राखिएका थिए।
बाल सुधार गृहमा पनि बालक फर्कन थाले
पोखरा–१९ ग्यारजातीस्थित बाल सुधार गृहमा रहेका बालकहरू पनि क्रमशः फर्कन थालेका छन्। सुधार गृहका प्रमुख डासी पौडेलका अनुसार मंगलबारसम्म ४८ जना बालक सुधार गृहमा फर्किसकेका छन्। आन्दोलनअघि सुधार गृहमा १०९ जना बालक थिए।
“प्रदर्शनकारीहरूले गेट तोडेर झ्याल–ढोका फोड्न थालेपछि बालकहरू डरले भागेका थिए,” पौडेलले बताए। “धेरैजसो बालकहरू अभिभावकको सम्पर्कमा छन्। हामी पनि निरन्तर सम्पर्कमा छौं। फर्कने क्रम जारी छ।”
पोखरामा जनजीवन सामान्यतर्फ, कार्यालयहरू क्षतिग्रस्त
जेनजी आन्दोलनका क्रममा पोखराका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। हाल जनजीवन बिस्तारै सामान्य बन्दै गएको कास्की कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनले सम्पर्कविहीन कैदीहरूलाई सकेसम्म स्वेच्छाले फर्कन आग्रह गरिरहेको छ।
