परराष्ट्र मन्त्रीमा महानायक राजेश हमालको नाम चर्चामा

Share:

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेसँगै परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि ‘महानायक’ राजेश हमालको नाम सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा आएको छ। देश–विदेशको गहिरो बुझाइ, असाधारण व्यक्तित्व, आत्मविश्वासी वाकशैली र जनप्रिय छवाका कारण युवापुस्ताबीच अत्यन्त लोकप्रिय रहेका हमाललाई परराष्ट्रमन्त्री बनाउने माग सामाजिक सञ्जालमा व्यापक रूपमा उठ्न थालेको हो। विशेषगरी जेनजी पुस्ताका युवाहरूले उनलाई “नयाँ पुस्ताको प्रतिनिधि” का रूपमा प्रस्तुत गर्दै उच्चस्तरीय कूटनीतिक जिम्मेवारीका लागि योग्य व्यक्तित्वको रूपमा समर्थन जनाएका छन्।

ट्विटरदेखि फेसबुक, टिकटकदेखि इन्स्टाग्रामसम्म हमालको नाम ट्रेन्डिङमा छ। कतिपयले त उनलाई “जनताको मन्त्री” घोषणा गर्दै सरकारसँग आग्रह गरेका छन्, “अब पुराना अनुहार होइन, अबको विदेश नीति राजेश हमालसंग!”

राजेश हमालको कूटनीतिक क्षमता, अन्तर्राष्ट्रिय अनुभव, शालीन भाषाशैली र विश्वस्तरमा नेपाली परिचयलाई सम्मानजनक ढंगले प्रस्तुत गर्न सक्ने शैलीले उनलाई यो पदको सम्भावित उम्मेदवारका रूपमा स्थापित गराएको हो।

यद्यपि, सरकारको तर्फबाट हमालसँग औपचारिक छलफल भएको विषयमा कुनै पुष्टि भएको छैन। तर प्रधानमन्त्री कार्कीको सचिवालय स्रोतले परराष्ट्र मन्त्रालयमा “अप्रत्याशित तर प्रभावशाली” व्यक्तित्वको खोजी भइरहेको संकेत दिएको छ।

राजेश हमालले पूर्वमा राजनीतिक जिम्मेवारी लिन इन्कार गरे पनि देशले आवश्यकता परे आफू सेवा गर्न पछि नपर्ने अभिव्यक्ति दिँदै आएका छन्। अहिलेको जेनजी लहरमा उनलाई मन्त्री देख्न चाहनेहरूको संख्या बढ्दो छ।

कमेन्ट गर्नुहोस्
Share: